भाद्र २९ पाल्पा
तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीको लागी नागरिक समाज संगको अन्तरक्रिया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवा तथा वातावरण र संस्कृति संरक्षण समुहको आयोजना, आइपास नेपालको सहयोग तथा स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा कार्यक्रम भएको हो ।
वाहिरी सहयोग विना संघीय र स्थानीय सरकारद्वारा सरकारी सुविधाहरू मार्फत सेवाहरूको खाँचोमा परेका कुनै पनि महिलाले सस्तो, गुणस्तरीय र दिगो सुरक्षित गर्भपतन सेवामा पहुँच ल्याउने
उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रस्तुतीकरण समाजसेवा तथा वातावरण र संस्कृति संरक्षण समुह अर्घाखाचीका कार्यक्रम अधिकृत आर्दश पौडेलले नेपालको प्रजनन् स्वास्थ्य भनेको के हो , प्रजनन् स्वास्थ्यका तत्वहरु, यौन तथा प्रजनन स्वास्थ्य अधिकारहरु, सुरक्षित गर्भपतनमा मानव अधिकार दृष्टिकोण, महिलाहरुले किन गर्भपतन गराउछन् ,विश्वमा असुरक्षित गर्भपतन सम्बन्धि केहि तथ्यहरु, नेपालमा गर्भपतन सम्बन्धि तथ्यहरु, सुरक्षित गर्भपतन सेवाका लागि भएका महत्वपूर्ण पहलहरु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, सुरक्षित गर्भपतन गर्न पाउने तथा नपाउने अवस्थाहरु,प्रजनन् अधिकारहरूलाई सुनिश्चित गर्ने दस्तावेजहरू, गर्वपतन सम्वन्धी कानुनमा भएको कार्वाहीको अवस्था लगाएतका विषय वस्तुको प्रस्तुती करण गदै महिलाको प्रजनन् अधिकार र सुरक्षित गर्भपतनको विषय आपसमा अन्तर सम्बन्धित रहेको बताउँदै अबैध रुपमा हुने गर्भपतन न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाल्पा अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा. रञ्जिता महतोले पाल्पामा कोहीकसैले पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता नरहेको बताउदै पाल्पाका सूचिकृत संस्थाहरूबाट नै अनिश्छुक गर्भलाई गर्भपतन गराउने सकिने वताउनु भयो ।
यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले अझ पनि ग्रामीण क्षेत्रमा केही व्यक्तिको मिलेमतोमा वलात्कारका घटनाबाट रहेको र गर्भ असुरक्षित रुपमा तुहाउने क्रम रहेको उल्लेख गर्नुभयो ।
यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जिल्लामा लुकीछिपी सूचिकृत नभएका संस्थामा असुरक्षित गर्भपतन गरेको हुनसक्ने भन्दै यस क्षेत्रमा काम गर्ने संस्थाहरुको पहलमा यस्ता कामलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । ४१ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान भएको गिरीले वताउनु भयो ।
कार्यक्रममा पत्रकार, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीको अध्यक्षता र समाजसेवा तथा वातावरण संरक्षण समूह, अर्घाखाँचीकी कार्यक्रम निर्देशक लक्ष्मी अधिकारीले सञ्चालन गर्नुभएको थियो ।














