पाल्पा, भाद्र २८
पत्रकारहरुको क्षमता विकासको लागि नेपाल प्रेस युनियनले देशभर तालिम चलाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका सभापति लम्सालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि युनियनले पाल्पा सहित देशभर तालिम सञ्चालन गर्ने बताउनुभयो ।
विगतका अञ्चल, केन्द्रीय र जिल्ला समितिहरुले क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्न नसकेको कुरा सत्य हो । विगतका सबै कुराहरु विर्सौं, कम्तीमा पनि यस आर्थिक वर्षमा पाल्पा शाखाले तीन वटा तालिम सञ्चालन गर्ने छ । त्यसका लागि केन्द्रीय नेतृत्वले सम्पूर्ण सहयोग गर्ने गरी काम गर्छ ।पत्रकारिता क्षेत्रलाई व्यवस्थित र व्यवसायिक पत्रकारिता गर्न चाहाने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पाल्पामा छिट्टै तीन वटा तालिमहरु सञ्चालन गर्ने गरी अगाडि बढ्न सभापति लम्सालले पाल्पा शाखालाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्त, युनियनका केन्द्रीय उपसभापति माधव अर्याल, युनियन पाल्पाका सल्लाहकार जगदीश भट्टराई, युनियनका पूर्व केन्द्रीय सदस्य विमल ज्ञवाली, युनियन रुपन्देहीका उपसभापति कविन्द्र नेपाल लगायतका नेताहरुको उपस्थिती भएको थियो ।
कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सभापति लम्साल सहित युनियनका नेताहरुलाई कार्यालयमा सम्मान तथा स्वागत गर्दै युनियन पाल्पा शाखाका सभापति भरत शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितिसँग सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । उनले केन्द्रीय नेतृत्वले पाल्पामा तालिम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने विषय पाल्पाली पत्रकारहरुका लागि खुसीको कुरा रहेको धारणा व्यक्त गर्नुभयो
प्रेस युनियनका जिल्ला सभापति भरत शर्माको सभापतित्व, उपसभापति मन गहिरेको स्वागत र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।













