भाद्र २८, पाल्पा
प्रेस चौतारी नेपाल पाल्पा शाखाको कार्यालयको औपचारीक शुभारम्भ गरिएको छ । तानसेन ४ सिल्खानटोलमा चौतारीको कार्यालय व्यवस्थापन गरी शुभारम्भ गरिएको हो । कार्यालयको शुभारम्भ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्र्चाज ठाकुर गैरेले गरेका हुन् ।
नेता गैरेले कार्यालय शुभारम्भ गर्दे श्रमजीवी पत्रकारहरुको हितमा चौतारीको क्रियाशीलता उत्साहजनक रहेकोमा खुसी व्यक्त गरे । उनले संगठित र व्यवस्थित हुन कार्यालय आवश्यक रहने बताउदै अव जनजीविका सवालमा सामुहिक छलफल गरेर अगाडि बढ्न सहज हुने बताए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का एकल उम्मेदवार समेत रहेका नेता गैरेले विद्यार्थी आन्दोलन देखि हालसम्म आफु राष्ट्रिय एकता,जनजीविकाको पक्षमा बोल्दै आएको बताए । उनले पाल्पा कृषि,पर्यटन,खनिज, शिक्षामा धेरै सम्भावना बोकेको जिल्ला रहेकोले यसको व्यवस्थित विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । नेता गैरेले पाल्पालाई शैक्षिक हवका रुपमा विकास गर्न सकिने बताए । यसका साथै उनले युवाको आर्थिक विकासका लागि स्वरोजरका कार्यक्रम आवश्यक रहेको समेत बताए ।
अहिलेको प्रतिनिधिसभा निर्वाचन लोकतन्त्रको पक्ष र विपक्षको रुपमा हुनलागेकोले मतदाताले विवेक प्रयोग गर्नुपर्ने नेता गैरेले बताए । उनले संविधान,जनाजीविका,राष्ट्रियता र श्रमजीवीको पक्षको जितका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय सत्तारुढ गठबन्धनले देशको अवस्था कम्जोर बनाएको बताउदै संविधानको रक्षा र नागरिकको हितका लागि नेकपा एमालेले जित्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष भरत शर्माले जनवर्गीय संगठनहरु संस्थागत हुनु राम्रो भएको बताए । उनले संगठित र व्यवस्थित रुपमा काम गर्न सहज हुनेसमेत बताए । उपाध्यक्ष शर्माले पाल्पाको पत्रकारीताको इतिहासमा चौतारीको भूमिका महत्वपूर्ण रहेको बताउदै सम्पूर्ण जनवर्गीय संगठनहरु समन्वय र सहकार्यका साथ अगाडि बढ्नु पर्ने बताए ।
शुभारम्भ कार्यक्रम प्रेस चौतारीका केन्द्रीय सदस्य कमलराज तिमिल्सेनाको स्वागत,सचिव नारायण न्यौपानेको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको थियोे ।













