पाल्पा ६ भाद्र
एमाले पाल्पाले सोमबार विज्ञप्ति निकाल्दै अन्तरघातीले पार्टी छाडेको जनाएको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसँग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको जिल्ला पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक लाभको पदमा अवसर लिएका व्यक्तिबाट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धनका उम्मेदवारलाई सघाउने गरी अन्तरघात जस्तो ‘जघन्य अपराध’ गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीलाई असहयोग गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पार्टी पंक्तिबाट नेतृत्वलाई दबाब सिर्जना भएता पनि पार्टी नेतृत्वले संयमता अपनाएको कुरा विज्ञप्तिमा उल्लेख छ । एमाले छाडेका पूर्वनगरप्रमुख शाही र पूर्व उपप्रमुख पाठक एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।
पूर्वनगरप्रमुख शाहीको नेतृत्वमा जारी विज्ञप्तिमा उल्लेखित व्यक्तिहरू मध्ये अधिकांश व्यक्तिहरू उक्त विज्ञप्तिप्रति असहमति जाहेर गर्दै आफूहरू नेकपा एमाले पार्टीमै दृढतापूर्वक उभिएको जानकारी प्राप्त भएको एमालेले जारी गरेको विज्ञप्तिमा छ ।














