पाल्पा २५ साउन
चर्चित गायक तथा सर्जक शिशीर योगीले हालै अर्को एउटा मर्मस्पर्सी गीत “माया मारी गयौ” डिजिटल बजारमा ल्याएका छन् ।
नेपाली संगीतको आकाशमा दरिलोरुपमा स्थापित भइसकेका गायक तथा संगीतकार योगीले गाएका गीतहरुमा कुनै न कुनै रुपमा कुनै न कुनै सन्देश दिएको पाइन्छ ।
हरेक गीतहरुबाट समाजमा भएका घटना तथा परिघटनाहरुको बारेमा समाजलाई सुइँको दिने गायक योगीले यसपटक मुग्लान पसेका मानिसलाई सम्झेर सिर्जना गरिएको गीत मार्फत् मुग्लानीहरुलाई सम्झेर गीत गाएका छन् ।
योगीको हालै सार्वजनिक भएको ‘माया मारी गयौ’ बोलको गीतमा देशबाट विदेश गएका नेपालीहरुलाई गाउँघरले सम्झिएको कथा व्यथा समेटी गाइएको छ ।
जन्मभूमिबाट सयौं डाँडा काटेर, सात समुन्द्र पार गरेर गाउँघर सुन्यपारी, मायामारी गएको परदेशीलाई सम्बोधन गर्दै गीतको स्थायी बनाइएको छ ।
मानिस युवा रहँदा आफ्नो जन्म ठाउँलाई छोड्ने छैन भनेर अठोट गर्दै आफ्नो गाउँघरलाई हराभरा पार्छु भन्ने मान्छे पछि देशमा कुनै अवसर नपाउँदा बर्बर आँशु झार्दै छिट्टै फर्की आउछु भनेर बाध्यताले गर्दा गाउँघरलाई शुन्य पारि, माया मारी विदेश जानु पर्ने अवस्था आउँछ ।
मानिस जति टाढा पुगेपनि उसलाई पछ्याउने भनेको उसका जन्मस्थानका अवयवहरुले नै हो। गाउँघरको भन्ज्याङ, वरपीपलको चौतारी, उही पुरानो घर र साथीभाईहरुले जति कोशिस गरेपनि आफ्ना पात्रलाई बिर्सन सकेका हुँदैनन् ।
ठाउँ छाडेर जानेहरु आफ्नो बाध्यताले वा काम नबन्दा गाउँघरमा आउँछु भनि वर्षैपिच्छे टारिरहेका हुन्छन् तर आएका हुँदैनन् ।
गायक शिशीर योगीको सुमधुर आवाजमा सजिएको सो ‘माया मारी गयौ’ बोलको गीत गीतकार विष्णुकुमार गिरीले सिर्जना गरेका हुन् । गीतमा संगीत सिर्जना र संगीत संयोजन चर्चित संगीतकार बिबि अनुरागीले सम्पन्न गरेका छन् ।
प्रिज्म डिजीटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतको भिडियोका दृश्य निर्माण वेष्ट लाइन भिडियो प्रालिले गरेको छ । भिडियोका दृश्यहरुको छायांकन खेम थापाले गरेका छन् भने भिडियो सम्पादन अधिनायकमान शेरचनले गरेका हुन् ।
गीतको भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् । शिशीर योगीको आफ्नै युटुव च्यानलमा सो गीतको भिडियो हेर्न सकिन्छ ।