भैरहवा- भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८र०७९ मा लिएका राजश्व संकलनको लक्ष्य पार सकेन । भन्सार विभागले कार्यालयलाई यस वर्षका लागि आर्थिक एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलन लक्ष्य दिएकोमा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ अर्थात ९० दशमलव ९४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।
भन्सार विभागले लक्ष्य पार नभता पनि चालु आर्थिक वर्षका लागि एक खर्ब ५५ अर्बको लक्ष्य कार्यालयललाई दिएको हो । बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि अहिलेको वर्ष लक्ष्य थपिएको हो ।
आर्थिक वर्ष २०७७ र ०७८ मा यस कार्यालयले लक्ष्यभन्दा १२ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । आर्थिक बर्ष २०७४ र ०७५ मा ८६ प्रतिशत, आर्थिक बर्ष २०७५ र ०७६ मा ८८ प्रतिशत, बर्ष २०७६ र ०७७ मा ६६ प्रतिशत मात्र राजश्व असुल गरे पनि आर्थिक बर्ष २०७७ र ७८ मा भने लक्ष्यको ११२ प्रतिशत राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
मंसिरसम्म कार्यालयले लक्ष्य अनुरुप सफलता हासिल गरे पनि पुस ५ बाट लागु हुने गरी नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुको आयातमा अनिवार्य प्रतितपत्र (एल.सीं.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको हो । ‘पुस महिनायता लक्ष्य अनुरुपको सफलता हासिल भएको छैन,’ भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताए ।
यस भन्सार नाकाबाट मुख्य आयात वस्तुमा प्रावधान आएका कारण विलासिताका बस्तुहरुको आयात घट्यो र त्यसको प्रभाव वार्षिक लक्ष्यमा देखियो । अनुमानित १५ अर्ब आउने सामान रोकिएको बताए ।
आर्थिक वर्ष २०७८ र २०७९ बेलहिया नाकाबाट दुई खर्ब ९६ अर्ब ९७ करोड ४० लाख १९ हजार रुपैयाँका विभिन्न मालवस्तु आयात भएको हो भनि सात अर्ब ८८ करोड चार लाख ३३ रुपैयाँका मालवस्तु निर्यात भएको हो । आयातको तुलनामा निर्यात न्यून भएकै कारण दुई अर्ब ८९ अर्ब नौ करोड ३५ लाख ८६ हजार रुपैयाँले व्यपार घाटा भएको हो ।
कार्यालयका अनुसार नाकाबाट भारतबाट आएका जीप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजस्व संकलन भएको छ । मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट पाँच अर्ब ७४ करोड ८८ लाख ६० हजार, एमएस विलेटबाट चार अर्ब ४० करोड पाँच लाख ९३ हजार पेट्रोलबाट चार अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट तीन अर्ब ४९ करोड आठ लाख ९४ हजार, हाइस्पिड डिजेलबाट दुई अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट दुई अर्ब नौ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजस्व संकलन भएको हो ।
भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यून रुपमा निर्यात हुने गरेको हो । एक बर्षमा कार्यालयबाट एक अर्ब ९० करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएकोे छ ।
एक अर्ब पाँच करोडको भटमासको तेल, ५५ करोडको पिना, ४७ करोडको खोटो रेजिन, ४४ करोडको खजुरको प्रशोधित तेल, ३९ करोडको लिड सिसा, ३५ करोडको चोकर भुस, २५ करुोडको काँच तथा डण्डी टयुब २१ करोडको चाउचाउ पास्ता, र २० करोडको स्टीलका भाडाकुडा लगायतका बस्तु निर्यात भएको हो ।










