पाल्पा- तानसेनको बसपार्कमा ‘तानसेन सुपथ पसल’ खुलेको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्तालाई सुपथ मूल्य र गुणस्तरीय सामान दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ पसल सञ्चालन गरिएको छ।
स्थानीय सहकारी संञ्जालले सुपथ पसल सञ्चालनमा ल्याउनुभएको हो । सुपथ पसलको उद्घाटन तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले गर्नुभएको हो । श्रेष्ठले बजारको मूल्यमा एकरुपतामा ल्याउन प्रविधिको प्रयोग गर्नुपर्ने र स्थानीय वस्तुहरूको बिक्रि वितरण गर्नुपर्ने बताए ।
तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले तानसेनको मुख्य केन्द्र बसपार्कमा सुपथ मूल्यमा सामाग्री खरीद गर्न पाउने भएपछि उपभोक्ता प्रत्यक्ष लाभान्वित बन्ने बताए । उहाँले चुनौतीका बीच सुरू गरिएको सुपथ पसल जंकफूडको स्टोर बन्न नहुने बताउनुभयो ।
उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तुहरू प्रविधिको प्रयोग गरि बिक्री र मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिदै पसल सञ्चालनमा रहने तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले बताउनुभयो । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो ।
सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका उपभोग्य वस्तु उपलब्ध गराईएको छ । सुपथ पसल सञ्चालन भएपछि उपभोक्ता खुसी भएका छन् ।











