काठमाडौँ – गत आर्थिक वर्षमा दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले गरि चितवन राष्ट्रिय निकुञ्जमा ३७ गैँडा मरेका छन्।
स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशंका रहेको छ भने अरु उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिए।
मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका भएको निकुञ्जको तथ्यांकले देखाएको छ।
निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ। घाँसे मैदानको कमीका र आहाराको कमीका कारण एकै ठाउँमा धेरै गैँडा हुँदा एकापसमा जुध्ने गरेको बताइन्छ । नौ सय ३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफलभित्रको ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ। पछिल्लो समय ती घाँसे मैदान नासिँदै गएका छन्।











