पाल्पा
जिल्लाको ठुलो नीजि अस्पतालको रुपमा रहेको लुम्बिनी मेडिकल कलेजले साउन ३ गते राति १२ बजे देखि अस्पतालमा स्वास्थ्य बिमा अन्र्तगत हुने उपचार सेवा स्थगित हुने जानकारी सेवाग्राही तथा आम सर्वसाधारणमा जानकारी गराएको छ । सरकारले आ.व २०७९/०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य वीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय गरेको भन्दै अस्पतालले वीमा सेवाबाट उपचार नदिने जनाएको छ । यो सँगै कलेजबाट ओपिडि, आकस्मिक तथा सबै फाँटबाट हुने स्वास्थ्य बिमा अन्र्तगतको सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्राचार्य डा. राजु शाक्यद्धारा हस्ताक्षरित एक विज्ञप्तिमा हालसम्म स्वास्थ्य वीमा कार्यक्रमबाट रेफरल बिरामीका लागि मात्र सेवा दिइरहेकोमा अबदेखि स्वास्थ्य वीमाबाट रेफर भइ आएका बिरामीलाई कुनै पनि सेवा दिन नसकिने उल्लेख छ ।
सरकारबाट पाउनु पर्ने भुक्तानी नपाएको भन्दै लुम्बिनी कलेजले यसअघि दैनिक २ सय जना बिरामीको मात्र बिमा अन्र्तगत उपचार गर्देै आएको थियो । जिल्लाको अर्को ठुलो अस्पताल युनाइटेड अस्पतालले पनि बिरामीहरुसँग बिमा अन्र्तगतको केही रकम मात्र छुट दिई अन्य रकम उठाउँदै आएको छ ।











