पाल्पा– पहिचान अभावमा ओझेलमा रहेको रामपुरको चिन्ते – छाङ्दी झरनामा अहिले आन्तरिक पर्यटकको चहल पहल सुरु भएको छ ।
डिभिजन वन कार्यालयको व्यवस्थापनमा झरनाको मर्मत पछि मनै लोभ्याउने पहाडको कुनाकन्दारबाट कलकल बगेको मनमोहक छाङ्दी झरना हेर्न अहिले रामपुर, निस्दी र स्याङ्जाका विभिन्न स्थानबाट समेत मानिसहरु आइरहेका छन् । छाङ्दी झरनामानहुाउन आउने आन्तरिक पर्यटकले विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा आउने पर्यटकहरु बढेका हुन् । रामपुर नगरपालिका–१ स्थित चिन्ते सामुदायिक वन क्षेत्रमा रहेको छाङ्दी (चिन्ते) झरना अहिले यस क्षेत्रको पर्यटकको रोजाइमा परेको छ ।
कालीगण्डकी करिडोर सडक खण्डदेखि करिब ४०० मिटरमाथि रहेको यस झरनामा अहिले दैनिकजसो १५० देखि ३०० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको स्थानीयले बताए ।
झरनासँगै रहेको प्राकृतिक गुफाले रामपुरको चिन्ते क्षेत्र पाल्पाकै नमुना पर्यटकीय गन्तव्य बन्ने छ र वन कार्यालयले ७ लाखको लगानीमा पोखरी, बाटो, रेलिङ्ग लगायतको भौतिक पूर्वाधारको निर्माण गरिएको छ । झरनाको सौन्दर्यकरणको लागि डिभिजन वन कार्यालयले बजेट बिनियोजन गरी आकर्षक रेलिङ्ग सहित स्विमिङ्ग पोखरी, बेबि पोन्ड, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरिएको र त्यसको दीगो व्यवस्थापनको लागि आवश्यक योजना बनाइएको ज्ञवालीले बताउनुभयो ।
प्राकृतिक रुपमा उत्पत्ति भएको झरना र चमेरा गुफा, गुफामा विभिन्न देवी देवताको आकृतिको स्वरुप, शंख, घण्ट लगायतको धार्मिक महत्वका आकृतिहरु अवलोकन गर्दा अति नै मनमोहक छ, सुन्दर र पर्यटनको धेरै सम्भावना बोकेको यस झरनाको प्रचारप्रसार तथा यहाँ पर्यटकीय पूर्वाधार विकासका काम गर्नु जरुरी देखिन्छ । झरनाभित्र गुफा त्यसभित्र पसेर अवलोकन गर्दा विभिन्न भगवानका आकृति छन्, गुफा र झरना एकै ठाउँमा रहँदा पनि पर्यटन विकास गरेर प्रशस्त आयस्रोत भित्र्याउन सकिन्छ यमलाल पोखरेल भन्नुभयो ।
यहाँ रहेको गुफाभित्र १५ देखि ३० जनासम्म मानिस अट्ने क्षमता रहेको गुफामा भने झाँक्रीले पहिले बासस्थान बनाएर बस्ने गरेको स्थानीय अग्रजहरुले बताउनुहुन्छ । झरनाको माथिल्लो भागमा ढभाह खोला, छाङ्दी पधेँरा, छापको पधेँरा, ढभाह चिसोपानीको मूल र दुई वटा झरना, सनसरीमाइको पूजा गर्ने मन्दिर छ । करिब १५० मिटरको लम्बाइमा झरना आकारमा पानी बहेको छ । वन कार्यालयले सामुदायिक वनलाई आर्थिक विकासमा जोड्नको लागि पर्यापर्यटनको महत्वपूर्ण संभावना बोकेको चिन्ते क्षेत्रमा आगामि वर्षदेखि टिकटको व्यवस्थापन गरेर थप विकासको काम गर्ने सोंच बनाएको छ ।










