काठमाडौँ – रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा ९ जनाको र ४ जनाको उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
घाइते मध्ये २५ जनालाई धुलिखेल अस्पताल ल्याइएकोमा ४ जनाको मृत्यु भएको र अन्यको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रवक्ता हरि खतिवडाले जानकारी दिए।
रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान १०ः१५ बजे लुभुघाटमा दुर्घटनामा परेको थियो। मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेको प्रहरी निरीक्षक ढकालले बताए। जसमध्ये ८ जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा सुनापति–५ की २६ वर्षीया समरिता तामाङ, ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय ढुकुरे भन्ने खड्क वि.क, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सुनापति–४ की ३६ वर्षीया सन्जु आले मगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदिप गजमेर रहेको रामेछाप प्रहरीले जनाएको छ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटना हुन गएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।












