२२ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको आकस्मिक बाढीका कारण बीच खोलामा फसेका माइक्रोबसका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।
सोमबार राति एक्कासी बाढी आएपछि यात्रुहरू सवार माइक्रोबस खोलामै फसेको थियो। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले डोरी तथा र्याफ्टिङ बोटको प्रयोग गरी सबै यात्रुलाई सुरक्षित रूपमा उद्धार गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार उद्धारपछि सबै यात्रुलाई गन्तव्यतर्फ पठाइएको छ। उद्धार कार्यमा सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी सहितको टोली सक्रिय रूपमा खटिएको थियो।
यसैबीच, निरन्तर वर्षा र बाढीका कारण बीपी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको छ, जसले सवारी आवागमनमा अवरोध सिर्जना गरेको छ।
त्यसैगरी, अत्याधिक वर्षापछि श्रीखण्डपुर क्षेत्रमा फसेको स्कुल बसबाट ३५ जना विद्यार्थीहरूको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।












