रामपुर - पाल्पाको रामपुर नगरपालिकाले बेरोजगार तथा सिप सिक्न इच्छुक युवाहरूका लागि सहायक बारबर र इलेक्ट्रोनिक्स मर्मत सम्बन्धी तालिम सञ्चालन गरेको छ। नगरपालिकाले ३९० घण्टे तालिम कार्यक्रम सुरु गर्दै निवेदनका आधारमा ४० जना युवालाई छनोट गरी प्रशिक्षण दिन थालेको हो।

तालिम उद्घाटन गर्दै नगर प्रमुख रमणबहादुर थापाले युवालाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले दक्ष जनशक्ति उत्पादन गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो। दक्षताको अभावका कारण बाहिरबाट आएका व्यक्तिहरूले व्यवसाय सञ्चालन गर्ने अवस्था अन्त्य गर्न यस्ता तालिम उपयोगी हुने उहाँको भनाइ थियो।
नगर प्रमुख थापाले अघिल्ला तालिमपछि सिकेको सिपको सदुपयोग कम भएको उल्लेख गर्दै सहभागीलाई गम्भीरतापूर्वक सिप सिकेर व्यवसायमा लाग्न आग्रह गर्नुभयो। साथै व्यवसाय प्रवर्द्धनका लागि व्याज अनुदान कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले सिप नै सफलताको आधार भएको बताउँदै लगनशील भएर सिक्न सुझाव दिनुभयो। रोजगार संयोजक गणेशप्रसाद रेग्मीले आवश्यकता अनुसार छनोट भएकाले व्यावसायिक रूपमा उपयोगी हुने गरी सिप हासिल गर्न जोड दिनुभयो।
लुम्बिनी पोलिटेक्निक इन्स्टिच्युट प्रालिको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको तालिम नगरपालिकाको आयोजना तथा सम्बन्धित संस्थाहरूको सहकार्यमा अघि बढाइएको हो।













