गुल्मी जिल्लामा बग्ने कालीगण्डकी नदी मा भइरहेका अवैध गतिविधिहरूका विरुद्ध स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। नदी तथा खोलामा करेन्ट लगाएर माछा मार्ने, विष्फोटक पदार्थ प्रयोग गर्ने र फोहोर फाल्ने जस्ता कार्य बढ्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो।

स्थानीयका अनुसार, धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिने यस नदीमा यस्ता गतिविधि निरन्तर भइरहँदा जैविक विविधता मात्र नभई मानव जीवनसमेत जोखिममा परेको छ। विशेषगरी करेन्ट र विष्फोटकको प्रयोगले दुर्घटना भई अकालमै ज्यान गुमाउने घटनासमेत हुने गरेको बताइएको छ।
यी गतिविधि तत्काल रोक्न माग गर्दै स्थानीय युवाहरूले विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन्। संगीत मगरको संयोजकत्वमा युवाहरूले रुरुक्षेत्र गाउँपालिका कार्यालय, रिडी इलाका प्रहरी कार्यालय, खैरेनी इलाका प्रहरी कार्यालय र सत्यवती गाउँपालिका कार्यालय मा ज्ञापनपत्र बुझाएका हुन्।
स्थानीयहरूले यस्ता अवैध क्रियाकलाप नियन्त्रणका लागि कडा अनुगमन, कानुनी कारबाही र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताएका छन्।













