माधव पाण्डे, पाल्पा
नयाँ वर्ष २०८३ को अवसरमा पूर्वखोला गाउँपालिका–२ जल्पामा भव्य सांस्कृतिक महोत्सव तथा अन्तरपालिका स्तरीय खुला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जल्पा वडा खेल मैदानमा उत्साहपूर्ण वातावरणमा आयोजना गरिएको थियो।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो र खेल लिग प्रणालीमा सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै रम्भा गाउँपालिका प्रथम, रामपुर नगरपालिका द्वितीय, पूर्वखोला गाउँपालिका तृतीय तथा निस्दी गाउँपालिका सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूलाई क्रमशः नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले यस्ता खेलकुद कार्यक्रमले युवाहरूबीच एकता बढाउने र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउनुभयो। विशिष्ट अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले खेलकुद तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी, जनसेवा युवा समूहका अध्यक्ष श्रीधन कवरले यस्ता कार्यक्रमले युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने भएकाले निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो।
महोत्सवलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरू बद्री पङ्गेनी, डोलराज बाघरे लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए, जसले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्यो।

कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग गाउँपालिका तथा वडा कार्यालयबाट गरिएको आयोजकले जनाएको छ। स्थानीयवासीहरूको उल्लेख्य सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।














