पाल्पा- रामपुरमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रम गरी मनाइएको छ। रामपुर नगरपालिकाको आयोजनामा “आरोग्यताको आधार योग, ध्यान र आयुर्वेद उपचार” भन्ने नारासहित दिवस मनाइएको हो।
कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद सन्दिप रानाले नेपाल योग र आयुर्वेदको उत्पत्ति स्थल भएको बताउँदै यसको संरक्षण र प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताए। उनले रामपुर तथा कालिगण्डकी क्षेत्रलाई वैदिक पर्यटनको रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाए।
लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन भएको भन्दै योग र आयुर्वेदले नसर्ने रोगबाट बच्न सहयोग गर्ने बताए। रामपुर नगर प्रमुख रमण बहादुर थापाले नियमित योग र ध्यानले स्वस्थ र सकारात्मक जीवन बनाउन मद्दत गर्ने उल्लेख गरे।
कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले अन्तर्राष्ट्रिय आरोग्य दिवस नेपालकै पहलमा मनाउन थालिएको जानकारी दिए। साथै योग र आरोग्य उपचार नसर्ने रोग नियन्त्रणका लागि महत्वपूर्ण भएको बताए।
कार्यक्रम नगर प्रमुख थापाको अध्यक्षता र सांसद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा योग अभ्याससमेत गराइएको थियो।












