पाल्पा – तानसेन नगरपालिका वडा नं. १ र ११ का कृषकहरूलाई ३ हजार लोकल कुखुराका चल्ला वितरण गरिएको छ। तानसेन आर्थिक विकास परियोजना अन्तर्गत कृषकहरूको मागका आधारमा सञ्चालन गरिएको उक्त कार्यक्रम हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य ग्रामीण भेगका कृषकहरूको आयआर्जन वृद्धि, स्वरोजगार सिर्जना तथा दिगो आर्थिक विकासतर्फ अग्रसर गराउनु रहेको छ। विशेषगरी स्थानीय जातका कुखुरा वितरणले दीर्घकालीन रूपमा फाइदा पुर्याउने अपेक्षा गरिएको छ, किनकि यस्ता कुखुरा स्थानीय वातावरणमा सजिलै अनुकूल हुने र रोग प्रतिरोधी हुने मानिन्छ।
कार्यक्रमबाट लाभान्वित कृषकहरू उत्साहित देखिएका छन्।
तानसेन–१ की कृषक रेखा गिरिले अब घरमै केही गर्ने आधार भेटिएको बताउँदै यी चल्लाहरूले आम्दानी बढाउने ठूलो आशा रहेको बताउनुभयो। त्यस्तै अम्बिका भारतीले सानो लगानीमै घरमै बसेर आयआर्जन गर्न सकिने अवसर महिलाहरूका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। वडा नं. ११ का सुन्दर विष्टले यस कार्यक्रमले गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो भने माया विष्टले महिलाहरूको आर्थिक सशक्तीकरणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। कृषकहरूको साझा अनुभवले स्थानीय तहको पहलले परिवर्तनको ढोका खोल्दै गएको संकेत गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले मासुमा आत्मनिर्भरता ल्याउन कुखुरा तथा बाख्रा वितरण, दूध उत्पादनका लागि गाई–भैंसी सहयोग, तरकारी उत्पादनका लागि बीउबिजन उपलब्ध गराउने, मौरीघार वितरण तथा कृषि औजार प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। “कृषकहरू गाउँमै बसेर सम्मानजनक आम्दानी गर्न सक्षम बनून् भन्ने नगरपालिकाको लक्ष्य हो,” उहाँले भन्नुभयो।
त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीले कृषकहरूको आर्थिक सशक्तीकरणका लागि संस्था सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार उत्पादनलाई बजारसँग जोड्ने, मूल्य अभिवृद्धि गर्ने र सहकारीमार्फत कृषकहरूलाई संगठित बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले यो परियोजना तानसेन नगरपालिकामा ४ करोड ५८ लाख ५ हजार ३ सय ८० रुपैयाँ लागतमा सञ्चालन भइरहेको जानकारी दिनुभयो, जसमा तानसेन नगरपालिकाको ३ करोड १७ लाख १ हजार ४ सय ५२ र हेफर प्रोजेक्ट नेपालको १ करोड ४१ लाख ५१ हजार ६ सय २८ रुपैयाँ लगानी रहेको छ। २१ महिनासम्म सञ्चालन हुने यस परियोजनाले नगरका ११ वटै वडाका कृषकहरूलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखिएको छ।
कार्यक्रममा प्रशिक्षक अन्सु प्रधानले कुखुरा पालनसम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्दै दाना व्यवस्थापन, खोर सरसफाइ, रोग नियन्त्रण तथा उत्पादन वृद्धि गर्ने उपायबारे जानकारी दिनुभयो। उहाँले सही तरिकाले पालन गरेमा कुखुरा व्यवसाय अत्यन्त लाभदायक बन्न सक्ने बताउनुभयो। कार्यक्रम ग्रामीण आर्थिक विकास संघ (रेडा) का प्राविधिक संयोजक विष्णु रेग्मीको सञ्चालनमा तथा तानसेन वडा नं. १ का वडा अध्यक्ष सुनिल बस्याल र वडा नं. ११ का वडा अध्यक्ष यादव सिंह कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले कार्यक्रमप्रति विश्वास र अपेक्षा दुवैलाई स्पष्ट रूपमा झल्काएको छ।













