पाल्पा - बगनासकाली गाउँपालिका–६, लाम्दीस्थित श्री बजरङ्गबली हनुमान मन्दिरमा यही २०८२ साल चैत १३ गते विशेष धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापन समितिको आयोजनामा १२ घण्टे भजन–कीर्तन, रुद्री पाठ तथा २ लाख लक्ष्यबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न हुने जनाइएको छ।
कार्यक्रम बिहान ९:०० बजेबाट सुरु भई साँझ ९:०० बजेसम्म सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। धार्मिक आस्था, संस्कार र सामुदायिक एकतालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा रुद्री पाठ, भजन–कीर्तन, लक्ष्यबत्ती प्रज्वलनका साथै सहयोगी चन्दादातालाई सम्मान गर्ने कार्यक्रम समेत रहने आयोजकले जानकारी दिएको छ। भजन–कीर्तनमा माता सरस्वती भजन, कीर्तन तथा सांस्कृतिक समूहको विशेष प्रस्तुति रहने बताइएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीता देवी बस्यालले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आयोजना गरिएको कार्यक्रममा भक्तजन तथा स्थानीय बासिन्दालाई उपस्थित भई पुण्यलाभ लिन आग्रह गर्नुभएको छ।













