काठमाडौँ, फाल्गुन १९ — आज मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन बेलुकी ग्रस्तोदित खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार दिउँसो ३:३४ बजे ग्रहण स्पर्श भए पनि नेपालमा चन्द्रोदयपछि खण्डग्रासका रूपमा देखिनेछ। बेलुकी ६:०३ बजे चन्द्रोदय हुँदा नै ग्रहण लागेको अवस्थामा उदय हुनेछ र ७:०२ बजे समाप्त हुनेछ। करिब एक घण्टा ग्रहण अवलोकन गर्न सकिनेछ।
ग्रहण पूर्णिमाकै दिन लाग्ने प्राकृतिक खगोलीय घटना हो। पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा परेपछि चन्द्र ग्रहण लाग्छ। चन्द्रमाको कक्षीय कोणका कारण सबै पूर्णिमामा ग्रहण नलाग्ने खगोलविद्हरू बताउँछन्।
ग्रहण अवलोकनका लागि विशेष उपकरण आवश्यक नपर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। मौसमले साथ दिए देशभरबाट खुला स्थानबाट सहजै हेर्न सकिनेछ।
धार्मिक मान्यताअनुसार चन्द्र ग्रहणमा तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने विश्वास छ। बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई सुतकपछि भोजन नगर्न सुझाइएको छ।













