
राष्ट्रिय न्युज - काठमाडौं आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रको छपाइकार्य सुरु भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार एक कार्यक्रमबिच छपाइ मेसिनको स्वीच अन गरेर मतपत्र छपाइ शुभारम्भ गर्नुभएको हो।
जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छपाइ हुने मतपत्र
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छापिनेछ्न भने समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न भइसकेको छ।
छपाइ कार्य निकै संवेनशील रहेको कुनै गल्ती गर्ने छुट नभएकाले आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताउनुभयो।
आयोगले फागुन ५ गतेभित्र निर्वाचनका सम्बन्धित स्थानमा मतपत्र पुर्याउने लक्ष्य राखेको भण्डारीले जानकारी दिनुभयो। उहाँले सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था रहेकोले उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने बताउनुभयो ।
प्रत्यक्षतर्फको मतपत्रको १५ दिनमा छपाइ सप्पन्न हुने बताउदै भण्डारीले
निर्वाचन व्यवस्थापनका क्रममा आयोगबाट सम्पादन गरिने हरेक क्रियाकलाप उत्तिकै महत्वपूर्ण भएको साथै निर्धारित कार्यतालिका अनुसार आयोगले जुन दिन जुन कार्य सम्पन्न गर्ने भनेर निर्धारण गरेको हुन्छ सोही अनुसार नै कार्यसम्पादन गर्नै पर्ने अनिवार्य दायित्व हुने गरेको पनि उहाँले बताउनुभयो।
प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनु हुने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।
भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताउनुभयो। निर्वाचन आयोगले यसपटक आचारसंहितामा व्यवस्था गरेका प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयन गर्ने साथै
सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति एवं एकले अर्को पक्षलाई निषेध गर्ने प्रवृत्तिप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने उहाँले बताउनुभयो।
आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम, अयोगमा विभिन्न माध्यमबाट आएका जानकारीहरू विश्लेषण गरेर आचारसंहिता उल्लंघनका घटना केलाउने कार्य सुरु भइसकेको उहाँले बताउनुभयो।












