राष्ट्रिय न्युज - पाल्पा रामपुर नगरपालिका–८, कुमराङ्गमा शनिबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–८ पिल्टार बस्ने ५० वर्षीय डोल बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । रामपुरबाट भुजात तर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल साँझ ६ बजे आपसमा ठोक्किएको थियो । दुर्घटनामा लु ६८ प ८८०० का चालक डोल बहादुर कुमालकाे मृत्यु भएकाेछ भने लु २० प ५८९७ नम्बरको चालक रामपुर नगरपालिका–८, धारापानी बस्ने २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडी सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिनुभयो ।
घाईतेलाई उपचारका लागि रामपुर अस्पताल लगिएकाे थियो । गम्भिर घाइते डोल बहादुर कुमालको उपचारको क्रममा रामपुर अस्पतालमा निधन भएको प्रहरीले जानकारी गराएकाेछ। घाइते मध्ये करणको अवस्था गम्भीर रहेको छ भने गिरमानको अवस्था मध्यम रहेको छ । उनीहरुलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएकोे छ ।
मोटरसाइकलले अगाडी रहेको नम्बर नखुलेको कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।











