तानसेन, पाल्पा- पाल्पाको तानसेनस्थित श्रीनगर सामुदायिक वनको पारिलेकमा आज विभिन्न प्रजातिका १०० वटा गुराँसका बिरुवा रोपिएको छ।
प्रदेश सरकार डिभिजन वन कार्यालय पाल्पाको सहयोग तथा स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाको आयोजनामा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम 'एक घर एक लालीगुराँस' अभियानका अभियन्ता सुशिल बस्यालको संयोजनमा सञ्चालन गरिएको थियो। वातावरणीय सन्तुलन र वन संरक्षणको क्षेत्रमा यस कार्यक्रमले समाजमा सकारात्मक र राम्रो सन्देश दिएको छ।
राष्ट्रप्रेमी अभियन्ता बस्यालले गुराँसको संरक्षणले स्थानीय पर्यटन र जैविक विविधतामा ठूलो टेवा पुग्ने बताउनुभयो। पर्यटकीय क्षेत्र श्रीनगरको सौन्दर्य बढाउन यो अभियान निरन्तर जारी रहने उहाँको भनाइ थियो।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ), प्रहरी उपरीक्षक, विभिन्न राजनीतिक दलका नेताहरू, डिभिजन वन कार्यालयका प्रमुख सञ्चारकर्मीहरूका साथै श्रीनगर सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।













