राष्ट्रिय न्युज, पाल्पा — लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ लाई प्रभावकारी बनाउने उद्देश्यसहित तानसेन नगरपालिकाले नगरका विभिन्न क्षेत्र–टोल–विद्यालय तथा चोकहरूमा जनचेतनामूलक सडकनाटक प्रदर्शन गर्ने विस्तृत तालिका सार्वजनिक गरेको छ।
मंसिर १६ आजदेखि १८ गतेसम्म सञ्चालन हुने यो अभियानलाई नगरपालिकाले वर्षकै महत्वपूर्ण सामाजिक जनचेतना रूपान्तरण कार्यक्रमको रूपमा लिएको छ।
सडकनाटकमार्फत विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू माथि हुने घरायसी, सामाजिक, मनोवैज्ञानिक,डिजिटल आर्थिक तथा यौनजन्य हिंसाका रूपहरू परिचय गराउने, पीडितले कहाँ कसरी सहयोग पाउन सक्छन् भन्ने जानकारी दिन तथा समुदायलाई हिंसा रोकथाममा सक्रिय बनाउने लक्ष्यका साथ सडक नाटक प्रदर्शन गर्न लागिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो। लैङ्गिक हिंसाबारे समाजमा विद्यमान गलत धारणा र मौनताको अन्त्य,समुदायस्तरमा पीडितमैत्री वातावरण निर्माण,वडास्तरमा स्थानीय प्रतिनिधिहरू, विद्यालय तथा युवा समूहको सक्रियतामा जनचेतना विस्तार,स्थानीय समुदायलाई हिंसारहित समाज निर्माणमा सहभागी गराउन,डिजिटल हिंसा नियन्त्रण गर्न सहयोग पुग्ने उहाको भनाई छ। नगरपालिकाका सम्बन्धित वडाध्यक्ष, प्रतिनिधि र स्थानीय समूहहरूको समन्वयमा कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो।
मंसिर १६ गते आज भुसालडाडा मा वि मा बिहान १० बजे,लक्ष्मी मा वि मा १२ बजे,दरबार परिसरमा दिउसो साढे २ बजे,आजनै साढे ४ बजे टुडिखेल परिसरमा सडक नाटक प्रर्दशन गरीने तानसेन नगरपालिकाका महिला तथा बालबालीका शाखा प्रमुख चिनाकुमारी न्यौपानेले बताउनुभयो।
त्यस्तैगरी भोली १७ गते तानसेन १० को सुनडाडामा बिहान १० बजे,तानसेन ८ को छाप भगवती आ वि मा दिउसो १२ बजे ,तानसेन ७ को प्रवासमा दिउसो २ बजे,दमकडा का वि मा ४ बजे सडक नाटक प्रर्दशन गरीने तानसेन नगरपालिकाले जनाएको छ।
त्यस्तैगरी मंसिर १८ गते तानसेन ११ को सामाकोटमा बिहान साढे नौ बजे,तानसेन १२ बौघापोखराथोकमा साढे ११ बजे,तानसेन १३ को शारदा मा वि मा साढे २ बजे र तानसेन १४ को देउराली अर्गलीमा साढे ४ बजे सडक नाटक प्रर्दशन गर्ने भएको छ।
तानसेन नगरपालिकाले सबै नागरिक, सरोकारवाला, विद्यालय, महिला समूह तथा युवाहरुलाई नाटक हेर्ने मात्र होइन, हिंसा रोकथामका प्रतिवद्ध अभ्यासहरू अपनाउन सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।सडक नाटक प्रर्दशन राष्ट्रीय कलाकारको उपस्थितिमा हुने नगरपालिकाले जानकारी दिएको छ।
नगरपालिकाले हिंसारहित समाज निर्माणमा “समुदायको सामूहिक उत्तरदायित्व” अनिवार्य भएको उल्लेख समेत गरेको छ।यो वर्ष ‘‘प्रविधिको सही प्रयोग गरौं ः लैंगिक हिंसा अन्त्य गरौं’’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइदै छ ।














