पाल्पा - तानसेनमा नेवारी समुदायको महत्त्वपूर्ण पर्व योमरि पर्वलाइ लक्ष्यित गर्दै तानसेनको टक्सार टोलमा योमरी महोत्सव हुने भएको छ । मैत्री क्लबले यही मङ्सिर १३ गते शनिवार तानसेनको टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो । क्लबले तानसेनमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । २०३६ सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। महोत्सवमा २३ देखि २५ वटा स्टल रहने मैत्री क्लबकी अध्यक्ष पन्च शाक्यले जानकारी दिनुभयो ।स्टलमा योमरीको स्टल, नेवारी खाजा, नास्ता र अन्य परिकारको स्टल रहने छन् । क्लबले २०७६ सालदेखि योमरी महोत्सव गर्दै आएको क्लबकी सचिव सुशीला शाक्यले बताउनुभयो ।
नेवारी भाषामा यो भनेको मन पर्ने र मरी भनेको रोटी हो । पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूले तानसेनका होटलहरुमा योमरीको मेन्यु राख्न होटल ब्यबसायीहरुसँग छलफल गर्नुपर्ने सुझाव दिएका थिए । महोत्सव सफल पार्न तानसेन नगरपालिका वार्ड नम्बर ३ ले आर्थिक सहयोग गरेको क्लबकी अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।













