राष्ट्रिय न्युज -रुपन्देहीको तिलोत्तमा–११, भूपू सैनिक क्षेत्रमा अवस्थित भुल्के माध्यमिक विद्यालयमा शुक्रबार ऊर्जा र उत्साहको केन्द्र बनेको थियो। विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न हुँदै गर्दा सम्पूर्ण वातावरण मानवीयताको उष्णताले भरिएको थियो।
यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण उपस्थिति हुनुहुन्थ्यो ओमकारेश्वर ज्योतिष तथा वास्तु सेवाका युवा ज्योतिष विपिन भण्डारी। भविष्य बताउने पेशामा संलग्न भए पनि भण्डारीको ध्यान केवल ज्योतिषीय गणनामा मात्र सीमित छैन। “पण्डितले दान लिने मात्र होइन, समाजलाई फर्काएर दिने पनि हो,” भन्ने विश्वासलाई उनले आफ्ना काममार्फत जीवन्त प्रमाणित गर्नुभएको छ।
भण्डारीले आफ्नै आर्जनको केही भाग समाजकै उज्यालोमा लगानी गर्दै विद्यालयका ७५ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभयो। उनीहरू मध्ये धेरैजना कठोर मौसमसँग जुध्दै बिहान–बेलुकी कक्षामा पुगिरहेका थिए। भण्डारीको सहयोगले ती बालबालिकाका अनुहारमा देखिएको चमक शब्दभन्दा धेरै प्रभावकारी थियो। यसैगरी, अध्ययनमा उत्कृष्ट प्रदर्शन गरेका ३० भन्दा बढी विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिँदा विद्यालयको माहोल उत्साह, गर्व र प्रेरणाले भरिएको देखिन्थ्यो।
कार्यक्रमले एउटा महत्त्वपूर्ण सन्देश छाडेर गयो। सेवा र संवेदनशीलता कुनै ठूलो योजनाले मात्र होइन, एक व्यक्तिको सद्भाव र संकल्पले पनि सुरु हुन सक्छ। भण्डारीका अनुसार समाजको समृद्धि पुस्तकको पानामा होइन, बालबालिकाको आँखीभित्र देखिन सकिने भविष्यमा निहित हुन्छ। उहाँले आफूले कमाएको पैसा केवल व्यक्तिगत सुखमा मात्र होइन, सामाजिक उत्तरदायित्वमा खर्चिनु आफैँलाई सौभाग्य लाग्ने बताउनुभयो ।
स्थानीयवासी, शिक्षक तथा अभिभावकले भण्डारीको पहललाई उच्च सम्मान व्यक्त गरे। उनीहरूको अभिमतमा, यस्तो कदमले केवल विद्यार्थीलाई मात्र सहयोग गरेको होइन, सम्पूर्ण समुदायलाई नै प्रेरित बनाएको छ।
युवा ज्योतिष विपिन भण्डारीको यो योगदान शान्त तर गहिरो स्थानीय तहमा उदारता र सामाजिक चेतनाको उदाहरण बनेको छ। भविष्य बताउने व्यक्तिले वर्तमानलाई यति सुन्दर बनाएर फर्काउने दृश्य दुर्लभ हुन्छ। भण्डारीले त्यही दुर्लभता वास्तविकतामा उतार्नुभएको छ।














