४ मंसिर, काठमाडौं - आगामी फागुन २१ मा हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरू गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा निर्वाचन केन्द्रित वाचापत्रको तयारी गर्दै कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको छ ।
वाग्लेसहित वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम, गणेश कार्की, क्रान्तिशिखा धिताल, अरनिको पाँडे र नन्दन यावदसहित पार्टी सल्लाहकार राम गुरुङसहितको सदस्य चयन गरिएको छ। संविधान परिमार्जन कार्यदलको नाम संशोधन गरी ‘संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल’को संयोजकमा केन्द्रीय सदस्य सोबिता गौतमलाई जिम्मेवारी तोकेको छ । सहमहामन्त्री विपीनकुमार आचार्यको नेतृत्वमा रहेको उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा समिति तथा उम्मेदवार छनोट समितिमा विराजभक्त श्रेष्ठ, डा. चन्दा कार्की र राजन गौतमलाई सदस्यमा चयन गरिएको छ ।
उक्त समितिमा प्रदेश सभापतिहरू पदेन सदस्य रहने प्रवक्ता मनिष झाले जानकारी गराउनुभयो । रास्वपाले निर्वाचन केन्दृत राजनीति अध्ययन, निर्वाचन रणनीति र मिडिया अध्ययन कार्यदल समेत गठन गरेको छ। विराजभक्त श्रेष्ठ संयोजक राजनीति अध्ययन कार्यदलमा सदस्यहरुमा पुकार बम, गणेश कार्की प्रकाश बिष्ट, मदन खड्का, देवराज पाठक, राजन गौतम, अच्युत्तम लामिछाने तपेश्वर यादव र गोमा तामाङ सरिन सदस्य तोकिएको छ ।निर्वाचन रणनीति कार्यदलको संयोजकमा प्रवक्ता मनिष झाले संयोजकको जिम्मेवारी पाएका छन् भने उक्त कार्यदलका सदस्यहरुमा विष्णुकुमार श्रेष्ठ, टीका संग्रौला (ज्वाला), पारसमणि गेलाल छन् । यो कार्यदलमा प्रदेश सभापतिहरु पदेन सदस्य रहने निर्णय गरिएको छ । मिडिया अध्ययन कार्यदलको संयोजक निशा डाँगीलाई तोकिएको छ ।
उक्त कार्यदलका सदस्यहरु बारे भने निर्णय गरिएको छैन । केन्द्रीय समिति बैठकले उच्च स्तरीय संवाद समितिका संयोजक उपसभापति डा. स्वर्णिम वाग्लेलाई परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित रहेर संवाद गर्न निर्देशन दिने निर्णय गरेको छ ।













