राष्ट्रिय न्युज–तानसेन। पाल्पामा ‘स्क्रब टाइफस’ र डेङगु सक्रमणका बिरामीहरुको चाप पाल्पाका अस्पतालहरुमा बढ्दो पाइएको छ । जिल्ला सरकारी अस्पताल पाल्पा, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा ’स्क्रब टाइफस’ र डेङगु का बिरामीहरुको चाप बढेको अस्पतालहरूले जनाएका छन् ।
साउन, भदौँ र असोज महिनामा ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित हुने बिरामी बढेका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत वर्ष २४५ जनामा मात्र ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो । यो वर्ष हालसम्म ४३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने डेङ्गु सङक्रमण गत बर्ष ४६२ जना मा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकंप्रसाद पोखरेलले जानकारी दिनुभयो । पोखरेलकानुसार हालको बर्ष ३९४ जनामा डेङ्गु देखिएको छ। अत्यधिक ज्वरो र शरीर दुखेर अस्पताल आउने बिरामीमा चेकजाँच गर्दा अधिकांशमा ‘स्क्रब टाइफस’ र डेङ्गु देखिएको पाल्पाका अस्पतालहरुले जनाएका छन् ।
पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँचीकामा समेत ‘स्क्रब टाइफस’का बिरामिहरुको संख्या दिनहु बढिरहेको छ। यस वर्ष पाल्पामा एक जना बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जिल्लाको रैनादेवी छहरा–१, की १२ वर्षकी बालिकाको ‘स्क्रब टाइफस’ का कारण मृत्यु भएको जानकारी दिनुभयो ।
अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामी पनि बढेका छन् । यस वर्ष हालसम्म जिल्लाभित्रका ३९४ जनामा डेङ्गु पुष्टि भइसकेको छ । गत वर्ष यही अवधिमा पाल्पामा ४६२ जनामा डेङ्गु सङ्क्रमण भइसकेको थियो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमण कम भएको बताउनुभयो । उहाँले पछिल्लो समय चार महिनाको अवधिमा पाल्पामा डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामी बढी देखिएको जानकारी दिनुभयो ।













