राष्ट्रिय न्युज–अर्थमन्त्री रामेश्वर खनालले आज (शुक्रबार)बाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने व्यवस्थापन प्रणालीको सन्चालन गर्नुभएको छ ।
सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल र सहजढङ्गबाट छिटो, पारदर्शीताका साथ प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित बनाउने योजनासहित प्रणालीको सुरुवात गरेको अर्थमन्त्री खनालले बताउनुभएको छ ।
सरकारको अवधारणालाई कार्यान्वयन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।
एकीकृत कार्यालय व्यवस्थापन प्रणालीअन्तर्गत विद्युतीय प्रणालीअनुसार तोक आदेश सहित टिप्पणी निर्णय, चिठी पत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृतसाथै अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी कार्य सम्पादन गर्नुपर्ने गरी व्यवस्था गरिएको छ।













