राष्ट्रिय न्युज -
गल्याङ नगरपालिका–१ मालुङ्गा र रम्भा गाउँपालिका–१ हुँगीको संगमस्थल उत्तरवाहिनी क्षेत्रमा असोज २१ गतेदेखि उत्तरगण्डकी महामेलाको आयोजना हुने भएको छ ।
कालीगण्डकीको धार्मिक महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ असोज २१ गते देखि कार्तिक १९ गतेसम्म ‘उत्तर गण्डकी धार्मिक महामेला तथा दामोदर धर्मोत्सव– २०८२ आयोजनाबारे शनिबार तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितीले सार्बजनिक गरेको थियो।
महामेला मूल आयोजक समितिका सचिव नारायण प्रसाद भट्टराईले महामेलामा तुलसीजल, गाईको दूध र गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, जल यातायात एवं स्टीमरद्वारा गण्डकी भ्रमण, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक गङ्गा आरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, लगायतका धार्मिक विधि गरिने जानकारी दिनुभयो ।
मेलामा गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुरुप एक हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निर्माण गर्ने, घाट व्यवस्थापन गर्ने, एक हजार क्षमताको सभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संरक्षक शङ्करप्रसाद पाण्डेले बताउनुभयो ।
पाण्डेले कालीगण्डकी क्षेत्रका १९ वटा स्थानीय तह साथै दाताहरूको सहयोग रहने जानकारी दिनुभयो ।
आयोजकका अनुसा महामेलामा सहभागी हुने भक्तजनलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थलमा दर्शनको व्यवस्था मिलाइएको छ ।आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका कार्यवहाक अध्यक्ष मुक्तिप्रसाद न्यौपाने, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराई लगायतले धार्मिक मेला भब्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शंकर प्रसाद पाण्डेको अध्यक्षता र मूल आयोजक समितिका सचिव नारायण प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।













