राष्ट्रिय न्युज–मुग्लिन नौविसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट बाँदरेमोडमा पहिरोले अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
बुधबार राति पहिरो खसेर दुईतर्फी अवरुद्ध सडक रातभर पहिरो पन्छाउने कार्यले बिहानबाट यातायात सञ्चालनमा आएको हो । अहिले दुईतर्फी यातायात सञ्चालन भएको छ मुग्लिन नागढुङ्गा सडक योजना कार्यालयका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । साथै सडकखण्डमा खसेको पहिरो झर्ने जोखिम भने कायम रहेको उहाँले जानकारी दिनुभयो ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मङ्गलबारदेखि अवरुद्ध भएको सडकको बुधबारदेखि नै पहिरो पन्छाउने काम भए पनि ठुलो पहिरो खसेका कारण काम गर्न कठिन भएकोले सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।
तुइनखोलाको पहिरो बिहानैदेखि पन्छाउने काम भइरहेको छ । मुग्लिन प्रहरीले रोकिएका सवारी साधनलाई व्यवस्थित पारेर पोखरा, काठमाडौँ यातायात सहज सञ्चालन गराउन प्रयास गरिराखेको छ ।













