राष्ट्रिय न्युज– नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक खसेको पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । थप सुक्खा पहिरोका कारण सडक आज नखुल्ने भएको छ । निरन्तर पहिरो पन्छ्याउने काम भैरहेको साथै भोलि दिउँसोसम्म सडक खुल्न सक्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुर चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले झन्डै १२ देखि १४ हजार घन मिटर ढुङ्गामाटो सडकमा रहेको छ, माथिबाट तत्कालै ठूलो पहिरो झर्ने सम्भावना कम भएपनि ढुङ्गा खस्ने गरेका कारण पहिरो पन्छाउने काम जोखिमपूर्ण रहेको बताउनुभयो।
पहिरोका कारण सडक अवरुद्ध हुँदा वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले अनुरोध गरेको छ । मुग्लिन बजार करिब २ कि।मिमा पर्ने इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुल नजिकै हिजो बेलुका ठुलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द रहेको छ ।













