राष्ट्रिय न्युज- पाल्पा जिल्लाका सबैजसो स्थानीय तहले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्यक्रम ल्याइरहेका छन्। उत्पादनमा आधारित अनुदान, बीउबिजन वितरण, आधुनिक उपकरण सहयोग, तालिम तथा प्राविधिक सेवा विस्तारमार्फत कृषिमा जोड दिइएको छ। तर, अपेक्षित परिणाम भने हासिल हुन सकेको छैन। कृषकहरूलाई आकर्षित गर्न स्थानीय तहले दूध, मासु, तरकारी, फलफूलदेखि लिएर अन्य नगदे बालीमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेका छन्। यद्यपि बजार व्यवस्थापन, भण्डारण सुविधा, प्राविधिक जनशक्ति अभाव, युवा जनशक्ति बाहिरिने क्रम, र खेतीयोग्य जमिन खण्डीकरणजस्ता कारणले उत्पादनमा लगानीअनुसारको प्रतिफल लिन नसकेको देखिन्छ।
कृषकहरूले बिक्रि–वितरणमा सहजता नभएको , मूल्य स्थिर नरहने, बजारमा आयातित वस्तुले स्थानिय उत्पादनलाई दबाइरहेने बताएका छन।उत्पादन वृद्धि भए पनि बजार व्यवस्थापनमा कमजोरी, सहकारी तथा निजी क्षेत्रसँग सहकार्य अभाव, र दीर्घकालीन योजनाको अभावले कृषकलाई वास्तविक लाभ पुग्न नसकेको बगनासकालीका किसान विमला बस्यालले बताउनुभयो। रामपुर नगरपालिकाका प्रमुख रमण थापाले नगरपालिकाले आधुनिक कृषि उपकरण वितरण, बीउ उत्पादन कार्यक्रम र अनुदानमार्फत कृषकलाई सहयोग गर्दै आएको बताउनुभयो। तर बजार व्यवस्थापन र किसानको वास्तविक आम्दानी सुनिश्चित गर्न अझै चुनौती भएको उहाको भनाइ छ। तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङजालीले कृषिलाई दीर्घकालीन योजना आवश्यक भएको बताउनुभयो। सहकारी र निजी क्षेत्रसँग साझेदारी गरी उत्पादन प्रशोधन उद्योगको स्थापना गरेर नगरपालिका अगाडि बढेको बताउदै प्रशोधन उद्योगले किसानलाई वास्तविक लाभ पुग्ने बताउनुभयो।
रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाले तरकारी उत्पादनलाई प्रोत्साहन गर्दै आएको बताउदै कृषक उत्साहित भए पनि मूल्य अस्थिरता र बजार नपाएको गुनासो गर्नुभयो। रम्भा गाउँपालिकाका अध्यक्ष बिश्नु प्रसाद भण्डारीले धान र मकैजस्ता मुख्य बालीमा उपयुक्त सिंचाइ सुविधा र बीउबिजन समयमै उपलब्ध गराउन सके उत्पादनमा वृद्धि हुने बताउदै पालिकासँग सीमित स्रोत भएकाले सबै कृषकलाई पुग्ने खालका कार्यक्रम दिन कठिन भएको बताउनुभयो।
स्थानीय तहका पहल प्रशंसनीय भए पनि बजार व्यवस्थापन, दीर्घकालीन योजना, सहकारीसँग सहकार्य र प्रशोधन उद्योगको प्रवद्र्धन नगरी पाल्पाको कृषि आत्मनिर्भर बन्ने सम्भावना कमजोर देखिन्छ। कतिपय पालिकाले सहकारीसँग सहकार्य गरेर काम गरेपनि किसानलाइ राहात भने नपुगेको किसानको भनाइ छ।













