राष्ट्रिय न्युज- माथागढी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न गुनासा र सुझावको बारेमा जवाफ दिदै माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले जनताको काममा सहजता ल्याउन र पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो । नागरिकको गुनासो र खुसीलाई पालिकासम्म ल्याउनका लागि पनि सार्वजनिक सुनुवाई कार्यक्रमले सहयोग गर्ने बताउदै नागरिकको तर्फबाट आएका सुझाव र सल्लाहलाई एउटा सम्पत्तिको रुपमा लिने उहाँले उल्लेख गर्नुभयो । कतिपय नबुझेर पनि जिज्ञासाको रुपमा आउन सक्ने भन्दै उहाँले सार्वजनिक सुनुवाईका माध्यमबाट त्यस्ता कुराहरुलाई सम्बोधन गर्न सकिने धारणा राख्नु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले गत आव २०८१,०८२ मा सम्पन्न भएका योजना तथा विकास निर्माणका बारेमा जानकारी दिनुभयो । उहाँले वडामा परेको सबैजसो योजना सम्पन्न भएको, पालिकाका ९० प्रतिशत भन्दा बढी योजना सम्पन्न भएको बताउनुभयो । उहाँले समग्रमा गत वर्ष पालिकाको ८३ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले माथागढी गाउँपालिकाले पूर्वाधार निर्माण, सुशासन र कृषि पशुपालन र पर्यटनको क्षेत्रमा प्रभावकारी काम गरेको बताउँदै थप सुधार गरेर त्यसलाई प्रतिफल आउने गरी काम गर्न सुझाव दिनुभयो ।त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश ख का सचिव मधु पराजुलीले माथागढी गाउँपालिका विगतका गरेका कामलाई प्रभावकारी रुपमा समीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिदै उत्पादन आधारित कार्यक्रम राख्न सुझाव दिनु भयो । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य हरिबहादुर चौहानले माथागढीको वजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बेरुजुको अवस्थालाई सुधार गर्न सुझाव दिनु भयो ।
सहभागीहरु बमबहादुर ठाडाले वर्षायाममा पहिरो जाँदा पालिकाबाट पठाउने डोजर सबै बाटामा पुग्ने गरी पठाउन आग्रह गर्नुभयो । त्यस्तै चन्द्रदेव पन्थीले पालिकाले लेन्थमेनको व्यवस्था गरी नाली सरसफाईमा ध्यान दिने हो भने सडक लामो समय टिक्ने बताउनुभयो । प्रेमबहादुार बाह्रघरेले कतिपय स्थानमा सार्वजनिक शौचालय नहुँदा खुल्ला दिशामुक्त क्षेत्र घोषणा अलपत्र परेको बताउनुभयो । उता युवराज गाहाले आफूहरुले आर्थिक वर्षको अन्तमा पनि योजना सम्झौता गरेर सम्पन्न गर्नमा पालिकाका कर्मचारी र जनप्रतिनिधिले राम्रो सहयोग गरेकोमा धन्यवाद दिनुभयो । जगातदेखि माथि जाने बाटो निर्माण भएपनि अहिले झन बाटोमा हिड्न नसकिने अवस्था सिर्जना भएकोमा बुद्धिबहादुर ढेँगाले चिन्ता व्यक्त गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको प्राविधिक शाखाका धर्मेन्द्र यादव, स्वास्थ्य शाखाका प्रमुख केशव जिसी, कृषि तथा पशु शाखाका प्रमुख शशी विष्ट, शिक्षा शाखाका प्रमुख प्रकाश पाठक लगायतले सम्बन्धित बिषयमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष यम चिदीको अध्यक्षता, उपाध्यक्ष विष्णुमाया लुठ्ठचेको स्वागत, र काविल पाल्पाली मल्टिमिडिया प्रालिको सहजीकरणमा सम्पन्न भएको थियो ।













