कविता "तानसेन"
लुम्बिनीको पाल्पा जिल्ला सुन्दर तानसेन नगर।
प्रकृतिको काखमा छ मनमोहक शहर।।
पहाडकी रानी भनि ख्याति कमाएको।
पर्यटकलाई स्वागत गर्दै मस्त रमाएको।।
श्रीनगर डाँडालाई शिरमा राखेको छ।
गुराँस फुलाइ कोइलीलाई गाउन डाकेको छ।।
पारीपट्टी सेतो हिमाल मुसुमुसु हाँस्छ।
मोहिनी त्यो रुप देखि पिरती नै गाँस्छ।।
अनाजको भकारी छ तल माडी फाँट।
आत्मनिर्भर भइ बाँच्न दिन्छ त्यसले आँट।।
प्रेमको प्रतिक बनि खडा रानीमहल।
प्रेमिल जोडी बढाउँछन् त्यतै चहलपहल।।
आस्थाको त्यो धरोहर भैरव स्थान मन्दिर।
दर्शनले उज्ज्वल हुन्छ मनुष्यको तकदिर।।
मुटुमा नै रहेको छ ऐतिहासिक दरबार।
त्यही दरबारले चलाउँथ्यो अंग्रेज जित्ने तरबार।।
आगन्तुकलाई दिइ पठाउँछ करुवा र ढाका।
फेरि फेरि आउँछु भन्दै राखि जान्छन् भाका।।
तराईबाट गर्मी छल्न आउने पाहुनालाई।
सल्लेरीले शीतल दिन्छ हावा चलाइ चलाइ।।
साँस्कृतिक र ऐतिहासिक जात्रा, मेला, पर्व।
तानसेनबासी जनहरु गर्छन यसमा गर्व।।
स्वर्गबाट झरेको पो हो कि जस्तो ठाउँ।
लाग्छ छोडि कतै नजाउँ यहीँ बस्न पाउँ।।
अमरनारायण, भगवती मन्दिर बजार भित्र।
यो 'उराठी' मुग्ध भइ बन्यो तिम्रो मित्र।।
…..अस्तु….
-मित्र 'उराठी' गौतम
अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२,रुपन्देही










