राष्ट्रिय न्युज- देशैभर कृषि क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला किसानका प्रमुख समस्याहरू उठाउँदै अखिल नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेश सरकारलाई बिहिबार ज्ञापनपत्र बुझाएको छ । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरीको टोलीले लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीलाई बुझाइएको ज्ञापनपत्रमा महासंघले कृषि क्षेत्रमा देखिएका मूल समस्या, नीति कार्यान्वयनको कमजोरी र समाधानका सम्भावनाहरूमा केन्द्रित रहेर देखिने गरी काम गर्न आग्रह गरेको छ ।
महासंघले किसानहरुको समस्या सहित कृषिमा बजेटको न्यून विनियोजन, नीतिगत असंवेदनशीलता र सहुलियतको अभावले गर्दा उत्पादन, रोजगारी, खाद्य सुरक्षा र आर्थिक वृद्धिमा व्यापक असर परिरहेको असर जस्ता विषयहरु उठान गर्दै प्रदेश सरकारका विभागीय मन्त्रीलाई बुटवलमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने टोलीमा महासंघका केन्द्रीय सदस्य सीपी पौडेल, जिल्ला अध्यक्ष कृष्ण खरेल लगायतको सहभागिता रहेको थियो ।













