राष्ट्रिय न्युज- रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो । नगरपालिकाले नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक , आर्थिक, समाजिक, पर्यटन ,भूगोल लगाएतका विषयलाई समेटेर "हाम्रो रामपुर" नामक पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । पुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गरि सूचना संकलन कार्यशाला सम्पन्न गरेको छ ।
पुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले नगरपालिका भित्रका १० वटै वडामा सूचना संकलन कार्यशाला सम्पन्न गरेको छ ।विद्यार्थीहरुलाई समग्र रामपुर नगरपालिकाको विषयमा जानकारी गराई पठनपाठनमा एक रुपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विभिन्न देश र स्थानको बारेमा अध्ययन गरे पनि आफ्नै स्थानको बारेमा जान्न नसक्नु दुखद पक्ष रहेको भन्दै नगरपालिकाको विषयमा जानकारी गराउन पाठ्यपुस्तक निर्माणको काम शुरु गरेको थापाले बताउनुभयो । विज्ञ ल्याएर पुस्तक लेख्दा यहाँको स्थानीय विषयवस्तुलाई सही रुपमा उठान गर्न नसक्ने भएकाले यहीँका शिक्षकहरुको सहयोग र सक्रियतामा पुस्तक निर्माण गर्न लागिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
पुस्तक लेखनका लागि पहिलो चरणमा स्थानीय समुदायसंग सूचना संकलनका लागि सबै वडामा कार्यशाला सम्पन्न गरेको र आगामी शैक्षिक सत्रबाट पाठ्यपुस्तक अध्यापन गर्ने तयारी रहेको थापाले बताउनुभयो । यसैरी रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले हरेक वडाको यथार्थ बस्तुस्थिति बारे सही सूचना संकलन गरी विश्वसनीय र पठनीय दस्तावेजको रुपमा विकास गर्न स्थानीय पाठ्यपुस्तक लेखनका लागि कार्यशाला सञ्चालन गरिएको बताउनुभयो । उहाँले पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षक विद्यार्थीलाई पठन पाठनमा असहज भएका कारण पुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागेको बताउनुभयो ।
स्थानीयस्तरमा रहेका विभिन्न क्षेत्रको पहिचान संगै रचनात्मक र ऐतिहासिक कार्यक्रम भएको नगर प्रवक्ता एवं वडा नम्काबर १ का अध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो । नगरपालिका भित्र रहेका जातजाती भेषभूषा भाषा संस्कृति लगाएत स्थानीय कुराबारे अभिलेख सहित विद्यार्थीहरुलाई शिक्षण र भावि सन्ततीलाई अध्ययन गर्न पाठ्यपुस्तक महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । साथै पाठ्यपुस्तक लेखन कार्य युगान्तकारी अभ्यास भएको भन्दै समग्र रामपुरको वृहत्तर विकासका लागि कोषेढुङ्गाको रुपमा स्थापित हुने बताउनुभयो ।
रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७९ /०८0 मा "हाम्रो रामपुर" पाठ्यक्रम लागु गरेर पठन पाठन भए पनि पाठ्यपुस्तकको आवश्यकता महशुस गरेर लेखन तयारी गरेको रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो ।पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तक सहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको शिक्षा अधिकृत काफ्लेको भनाई छ ।
कार्यदलले विभिन्न ८ वटा विषयवस्तुमा आधारित रहेर सुझाव सहित सूचना संकलन गरेको छ । कार्यदलले प्रत्येक वडा तथा बस्तीको भूगोल र ईतिहास , स्थानीय सरकार , साँस्कृतिक सम्पदा , वन वातावरण तथा सरसफाई , स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन , सामाजिक विकास , स्थानीय विकासका पूर्वाधार , विपद व्यवस्थापन र सुरक्षा गरि ८ वटा विषवस्तुमा आधारित रहेर सूचना संकलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताउनुभयो ।
नगरपालिका भित्रका हरेक बस्तीको सबै यथार्थ बस्तुस्थितिबारे जानकारी लिनका लागि प्रत्येक वडामा वडाबासीको प्रत्यक्ष सहभागितामा सूचना संकलन गरिएको संयोजक देवकोटाले बताउनु भएको छ । विभिन्न वडाबाट संकलित सूचना र सुझाव पाठ्यपुस्तकमा नसमेटिए पनि सन्दर्भ सामग्रीको रुपमा प्रकाशित गरिने उहाँले बताउनुभयो ।
स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि १० वटै वडामा समाजसेवि, बुद्धिजिवि , राजनीतिक दल ,जनप्रतिनिधि लगायत वडाबासीहरुको प्रत्यक्ष सहभागितामा सूचना संकलन कार्यशाला सम्पन्न गरि सकेको छ ।यस पश्चात संकलित सूचनाको आधारमा विषय छनौट गरी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यलाई अगाडी बढाउने हाम्रो रामपुर पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले जनाएको छ ।













