राष्ट्रिय न्युज- आज नागपञ्चमी घर घरमा नागको पुजा गरी मूल ढोकामा नागको फोटो टासेर मनाउने गरिन्छ। नागपञ्चमी पर्व परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन पर्दछ । घरको मूल ढोकामा नागको फोटा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक चलन छ भने सोही अनुशार बिश्वास गर्ने गरेको बुढापाकाको भनाई छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको मान्यता छ। साथै नागलाई सर्पको राजा रुपमा मान्ने गरिन्छ, नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने चलन छ तसर्थ बारीको छेउ, मूल पोखरी नजिक नागको थान बनाउने र थान सम्झेर पुजा गर्ने, गाईको दुध धार दिने, थानमा चढाउने चलन समेत रहेको छ । शेष नाग, अष्ट नाग, काली नाग, सेती नाग जस्ता बिभिन्न प्रकारका नामबाट पुकारिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले नागका रूपमा मान्ने गरिन्छ ।













