राष्ट्रिय न्युज- साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार राजेन्द्र गोपाल सिंहले चर्चा गर्दै , "राष्ट्रिय स्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु हामी पाल्पालीको गौरवको विषय हो । पुष्कर पाल्पाको साहित्य क्षेत्रको बर्तमानमा अहोरात्र खटिरहने साँच्चै अथक पात्र हुन् । "
त्यसैगरि विशेषाङ्कको परिचर्चा गर्दै साहित्यकार एबम पत्रकार भोजराज भट्टराईले , " बहुमुखी प्रतिभाका धनी पुष्कर अथक रेग्मी बहुआयामिक हुनुका साथै वहुविधामा कलम चलाउदै र साहित्यका चारवटै विधामा कृति प्रकाशित गरिसकेका स्थापित साहित्यकार भएको उल्लेख गरेका थिए ।
जनमत पत्रिकाले अथकको कदर गरि विशेषाङ्क निकालेको छ । उक्त विशेषाङ्कभित्र १९ जना स्रष्टाहरूले अथकको बारेमा विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएका लेखहरू प्रकाशित भएका छन् । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजको सचिव सविता भट्टराईको संचालन र स्वागत तथा पुष्कर अथक रेग्मीद्वारा धन्यवाद ज्ञापन गरिएको परिचर्चा कार्यक्रममा धन्नै ४ दर्जन स्रष्टा र द्रष्टाहरूको उपस्थिति रहेको थियो ।













