राष्ट्रिय न्युज- पाल्पाका स्थानीय तहबाट १ अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ । जिल्लाका स्थानीय तहका लागि विनियोजित कुल बजेट ६ अर्ब ८९ करोड १८ लाखमध्ये पाँच अर्ब ६४ करोड ५७ लाख रुपैया मात्रै खर्च भएको छ । पाल्पाका १० स्थानीय तह अन्तर्गत पालिकाले चालुतर्फ चार अर्ब ३८ करोड ८० लाखमध्ये तीन अर्ब ७९ करोड ७७ लाख खर्च भएको छ । यस्तै पूँजीगततर्फ विनियोजित दुई अर्ब ५० करोड ३८ लाखमध्ये एक अर्ब ८४ करोड ८० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ । समग्रमा चालुतर्फ ८६ प्रतिशत र पूँजीगततर्फ ७३ प्रतिशत बजेट खर्च भएको कार्यालयका प्रमुख शशीन्द्र खातीले जानकारी दिनुभयो ।
पाल्पा जिल्लामा विकासे कामका लागि विनियोजन भएको बजेटमध्ये सबैभन्दा बढी खर्च बगनासकाली गाउँपालिका र सबै भन्दा कम तानसेन नगरपालिकाले गरेको छ । जस अनुशार बगनासकाली गाउँपालिकाले विकास खर्चको ८६ प्रतिशत, रम्भा गाउँपालिकाले ८१ प्रतिशत, माथागढी गाउँपालिकाले ८० प्रतिशत, रिव्दीकोट गाउँपालिकाले ८० प्रतिशत, रामपुर नगरपालिकाले विकास खर्च ७९ प्रतिशत, पूर्वखोला गाउँपालिकाले ७७ प्रतिशत, तिनाउ गाउँपालिकाले ७७ प्रतिशत, रैनादेवी छहरा गाउँपालिकाले ७३ प्रतिशत, निस्दी गाउँपालिका ६७ प्रतिशत र तानसेन नगरपालिकाले ६६ प्रतिशत मात्रै खर्च गरेको छ । स्थानीय तहमा उपभोक्ता समितिले गरेका अधिकांश योजना सम्पन्न भएका छन भने पाल्पाका अधिकांश पालिकामा दस लाख बढीका योजना टेन्डरमार्फत निर्माण ब्यबसायीलाई दिइएको भएपनि बिकास निर्माणको काममा खासै प्रगति हुन नसक्दा रकम खर्च हुन नसकेको पालिकाहरुले बताएका छन ।













