राष्ट्रिय न्युज- पूर्वखोला गाउँपालिका वडा नम्बर ४ देवीनगरको बलिपोखरामा यसै आर्थिक वर्षदेखि थोपा सिंचाई प्रबिधिमा आधारित करेसाबारी खेती कार्यक्रम शुरु हुने भएको छ । बलिपोखरा टोल भवनमा आयोजित टोलबासीहरूको बृहत् भेलामा सहजिकरण गर्दै गोरखा वेलफेयर ट्रष्टका सुपरभाईजर टेक बहादुर राईले उक्त जानकारी गराउनु भएको हो ।कार्यक्रममा सहभागी हुन चाहने घर परिवारले लागत सहभागिता स्वरूप प्रति घर एक हजार नगद रकम जम्मा गर्नु पर्ने समेत सुपरभाईजर राईले जानकारी गराउनु भयो । कार्यक्रम अन्तर्गत परियोजनाबाट प्रतिघर १४ हजार रूपैया बराबरको थोपा सिंचाई प्रणाली, हजारी, बिउबिजन तथा अन्य तालिम एवम प्राबिधिक सहयोग गर्नेछ ।
बलिपोखरामा गोर्खा वेलफेयर ट्रष्टले बि.स. २०७९ फाल्गुणमा कूल ३६ लाख ११ हजार १५७ रूपैया लागतमा खाने पानी योजना समेत सम्पन्न गरेको थियो । उक्त योजना मार्फत एक घर एक धारा कार्यक्रम अन्तर्गत ५३ वटा धारा जडान भएको थियो । सो परियोजना सम्पन्न गर्न समुदायले प्रति घर ६३ दिन जनश्रमदान गरेका थिए । सोही कार्यक्रमको पुरक कार्यक्रमको रूपमा हालको थोपा सिंचाई प्रबिधिमा आधारित करेसाबारी खेती कार्यक्रम शुरुगर्न लागिएको सहजकर्ता राईले जानकारी गराउनु भयो । पूर्वखोला-४, देवीनगरका वडाध्यक्ष मेहर सिं थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता बलिपोखरा खाने पानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारान सिंजालीले गर्नु भएको थियो ।












