राष्ट्रिय न्युज - रिब्दीकोट २ पाल्पाका तेज बहादुर रानाले मिलनसार सहकारीलाई ५० केजी टमाटर विक्री गर्नुभयो, विक्री गरेको केही क्षणमै खरिद गरेको विवरण मोवाईलमा आयो । रानाले यस अगाडी पनि तरकारी विक्री गर्दै आउनुभएको थियो । तर खरिद विक्रीको विवरण कागजमा हुने गर्दथ्यो । ५० केजी टमाटर ५० रुपैयाको दरले रु ५ हजार रकम लिन सहकारीमा आउनुहोला भन्ने मोवाईलमा संदेश आएपछी रानाले खुसी व्यक्त गर्नुभयो ।
तानसेन १३ बौघागुम्हामा रहेको मिलनसार सहकारीले तानसेनको होलाङ्दीबाट तरकारीको कारोवार गर्दै आएको छ । सहकारीले गाउँ गाउँबाट संकलन गरेको तरकारी होलाङ्दीमा रहेको प्रशोधन केन्द्र मार्फत प्रशोधन गरी तानसेन, बुटवल, स्याङ्जा हुँदै पोखरा सम्म विक्री गर्दै आएको छ ।
जियोकृषि सेवा मोवाईल एप्लिकेशन मार्फत कृषकहरुलाई सहकारी संग जोडिदै तरकारीको कारोवारलाई समेत डिजिलाईजेसन गरिएको हो । सहकारीका प्रतिनिधिहरु तरकारी संकलन मोवाईल एप्स मार्फत गर्दछन्, जसको विवरण विक्री गर्ने कृषक र सहकारी दुवैलाई प्रदान हुन्छ ।
रिब्दीकोट २ कै टिका बहादुर रानाले ४ वटा टनेलमा टमाटर फलाउनु भएको छ । ५ सय केजी विक्री गरिसक्नुभएको छ, तर गएको बुधवार उहाँले विक्री गरेको २ सय ६६ केजी टमाटरको विवरण मोवाईलमा प्राप्त भयो । यस अगाडी विक्री गरेको विवरण कागजमा हुने, कतिपय विवरण हराउने, दररेट र तौल समेत फरक पर्ने गरेको थियो । रानाले भन्नुभयो, “हामीले तरकारी विक्री गर्दा एउटा दररेट हुन्छ, पैसा लिने समयमा दररेट फरक भैदिन्छ,” उहाँले भन्नुभयो, “कहिलेकाही हामीले पनि विवरणहरु विर्सने भएकोले समस्या परेको थियो ।” संकलन गर्ने प्रतिनिधि, भुक्तानी दिने सहकारी र विक्री गर्ने कृषकहरु सबैलाई एकै साथ विवरण प्राप्त हुने र लामो समयसम्म रेकर्ड पनि सुरक्षित हुने भएकोले राना जस्तै सबै कृषकहरुलाई यो प्रविधिले सहज बनाएको छ । हेफर ईन्टरनेशनल नेपालका डिजिटल सहजकर्ता विष्णु घिमिरेका अनुसार, कृषकहरुले जियो कृषि सेवामा आफ्नो उत्पादनलाई रेर्कड राख्ने गर्दछन्, सहकारीका प्रतिनिधिहरुले उनीहरुको उत्पादनलाई खरिद गर्दछन् ।
हेफर ईन्टरनेशनलको सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडा मार्फत क्ष्ब्ीख्ऋ परियोजना समेत संचालन भएको छ । परियोजनाले पाल्पाका तानसेन, रिब्दीकोट, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा तरकारी उत्पादन र वजारिकणमा काम गर्दै आएको छ । परियोजना क्षेत्र तथा अन्य क्षेत्रहरुबाट समेत गरी मिलनसार सहकारीले दैनिक १० देखी १५ मेट्रिक टन तरकारी खरिद गरी विक्री गर्दै आएको छ । तरकारीको कारोवार कागजमा मात्रै गर्दा, रेकर्ड राम्रो संग नहुने, दररेट फरक पर्ने गर्दथ्यो । सहकारीका अध्यक्ष कमला भण्डारीले भन्नुभयो, एप्स मार्फत डिजिटल रेकर्डले सबै पक्षलाई फाईदा पुगेको छ । पारदर्शी हुनुको साथै वजार व्यवस्थापन र योजना निर्माणको लागि समेत सहयोग पुगेको छ ।
सामाजिक उद्यमी महिला सहकारीहरुको छाता संगठन सेवा नेपाल र जियो कृषिको साझेदारीमा जियो कृषि सेवा संचालन भएको हो । जियो कृषि मोवाईल एप्लिकेशन हो, यसले कृषकहरुलाई कृषि तथा पशुपालन सम्बन्धी जानकारीहरु, नजिकको वजारको तरकारी दरभाउ, मौसम सम्बन्धी जानकारी, वाली तथा पशु स्वास्थ्य समस्यालाई डिजिटल परामर्श, कृषि सामाग्रीहरुको डिजिटल खरिद लगायतका सुविधाहरु प्रदान गर्दै आएको छ । यसको लागि आर्थिक र प्राविधिक सहयोग हेफर ईन्टरनेशनल नेपालले गरेको हो ।
हेफर ईन्टरनेशनल नेपालका ईनोभेसन प्रमुख तारा प्रसाद पन्थीका अनुसार, ७० बढी सहकारीहरुका सदस्यहरुलाई डिजिटल सेवामा पँहुच पुरयाउन जियोकृषि सेवा मार्फत सहयोग गर्दै आएको छ । सहकारी र यसका सदस्यहरुलाई जियोकृषि मार्फत प्रविधि संग जोडिएको छ । प्रमुख पन्थीले भन्नुभयो, कृषि तथा पशुपालनको डिजिटल सेवाको साथै सहकारीको सेवा समेत मोवाईलबाटै प्राप्त गर्न सुरु गरिएको छ । पाल्पामा सुरु भएको सहकारीको तरकारी कारोवारलाई डिजिटाईज गर्ने कार्य दाङ, धादिङ र रौतहटका सहकारीहरुमा पनि सुरु गरिने छ । सहकारीहरुको कारोवारलाई अनलाईन सिस्टम गर्ने र कृषकहरुबाट खरिद गरिएको उत्पादनलाई अनलाईन भुक्तानी दिने गरी तयारी गरिएको छ । खरिद गरिएको विवरण संगै अव विक्री विवरण समेत डिजिटाईज गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।












