राष्ट्रिय न्युज-पाल्पा स्थित माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६३ करोड ७४ लाख ९२ हजार ८ सय ५४ रुपैंया बराबरको अनुमानीत आयव्यय प्रस्तुत गरेको छ । प्रस्तुत बजेट मध्ये चालु तर्फ ४३ करोड ८९ लाख ९२ हजार ८ सय ५४ रुपैँया र पुँजीगत तर्फ १९ करोड ८५ लाख रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा राजश्व मार्फत १ करोड ६४ लाख ४५ हजार रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा ३ करोड ५८ लाख, स्वास्थ्य तर्फ २ करोड ७१ लाख, खानेपानी तर्फ १० लाख, लक्षित वर्ग, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणतर्फ १० लाख विनियोजन गरेको छ । यस्तै यूवा तथा खेलकुदतर्फ २३ लाख, कृषि तथा पशुपंक्षी विकासतर्फ १ करोड ६७ लाख ५० हजार, सडक तथा यातायात र भवन तथा आवास सहित पुर्वाधार तर्फ १० करोड बजेट विनियोजन गरेको छ ।
विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, उद्योग, नवप्रवर्तन तथा उद्यमशिलता विकास र रोजगार प्रवर्धन कार्यक्रमहरुलाई समेत पालिकाले आफ्नो बजेटमा समावेश गरेको छ । विद्यार्थीको पढाईलाई ध्यानमा राख्दै गाउँपालिकाले महिला शिक्षकले सुत्केरी विदा लिएको समयमा सट्टा शिक्षक व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोषणयुक्त खाजा, गुणस्तरीय शिक्षा प्रवद्र्धन कार्यक्रम, शिक्षक प्रोत्साहन भत्ता, तथा बालबालिकालाई पालिकाको अभिभावकत्वमा शिक्षाको सुविधा सुनिश्चित गर्ने योजना समेटिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । १५ शैयाको अस्पताल सञ्चालन, विपन्न नागरिक स्वास्थ्य बीमा तथा संस्थागत सुत्केरी प्रोत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको अध्यक्ष चिदीले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेले नीति तथा कार्यक्रममा आधारित रहेर प्रस्तुत गर्नु भएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । गाउँपालिकाको बजेटमा आन्तरिक स्रोतबाट एक करोड ६४ लाख, संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र गत वर्षको मौज्दात समेत गरी स्रोत सुनिश्चित गरिएको छ ।जसमा चालुतर्फ ४३ करोड ८९ लाख र पूँजीगततर्फ १९ करोड ८५ लाख बजेट विनियोजन गरिएको सभाका सचिव तथा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । "हाम्रो माथागढी, हाम्रो शानः समृद्ध माथागढी हाम्रो पहिचान” भन्ने नारालाई सार्थक बनाउने अभियान अन्तर्गत पछिल्लो पटक माथागढी गाँउपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशु, सडक र भौतिक पूर्वाधार निर्माण र बिकासको लागि प्राथमिकतामा राखेर अघि बढेको छ । सोही अनुशार बजेट बिनियोजन गरिएको समेत उँहाले रास्ट्रिय न्युजलाई बताउनु भयो ।













