माथागढी विषेश अंक सहित नेतृत्व राष्ट्रिय त्रैमासिक वर्ष २८ अंक १ बिमोचन गरिएको छ । मंगलबार माथागढी गाँउपालिका वडा नम्बर ३ कसेनी स्थित दिब्य ज्योति माविको प्राङ्गणमा नेतृत्व सार्वजनिक तथा परिचर्चा कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल माथागढी गाँउपालिका अध्यक्ष यम चिदी लगायतका अथितिहरुले संयुक्त रुपमा पत्रिकाको बिमोचन गर्नु भएको थियो । सोही अवसरमा प्रमुख अथिति एबम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेतृत्व त्रैमासिक पत्रिकामा सिंगो माथागढीमा भएको कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन र बिकास निर्माण सँगै बिबिध कुरा समेटेर तयार पारेको चर्चा गर्नु भएको थियो।

पत्रिकाले समग्र माथागढीको बिषयमा समेट्ने प्रयास गरे पनि कति कुरा छुटेका छन, तिनलाई आगामी अंकहरुमा पनि माथागढीका बिषयले स्थान पाउने बिस्वास व्यक्त गर्नु भयो । पत्रिकामा समेटिएका सामग्रीको परिचर्चा सर्जक एबम समिक्षक डा.टंक पन्थले सारांशमा चर्चा गर्नु भएको थियो।
सो अवसरमा पत्रकार नबराज पन्थी, दिब्य ज्योति मावि ब्यबस्थापन समितिका अध्यक्ष रेखिराम राना, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिना, सर्जक राम प्रसाद अर्याल, उद्यमी महिला दया दर्लामी, वडा नम्बर १ का अध्यक्ष राज कुमार पन्थी लगायतले नेतृत्व पत्रिका र माथागढीको बारेमा आफ्ना बिचार राख्नु भएको थियो। माथागढी गाँउपालिका अध्यक्ष यम चिदीको अध्यक्षता, वडा नम्बर ३ का अध्यक्ष तेज घर्तीको स्वागत र नेतृत्वको सम्पादक गोबिन्द भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

माथागढी गाँउपालिकाको ब्यबस्थापन सहयोग र नेतृत्व मिडिया प्रालिको आयोजनामा भएको सो कार्यक्रममा माथागढीका बौद्दिक ब्याक्तित्व नारायण अधिकारी, दिब्य ज्योति माविका प्रअ लोकेन्द्र थापा, माउन्ट भ्याली स्कुलका प्रिन्सिपल प्रेमराज खरेल, पत्रकार सुमित्रा कंडेल, वडा नम्बर ३ का वडा सदस्य मान बहादुर राना लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेतृत्व पत्रिकामा आफ्ना लेख रचना सामग्री सहित जोडीने लेखक तथा सर्जकलाई सम्मान गरिएको थियो ।













