बासुदेव ढकाल - निस्दी गाँउपालिका वडा नम्बर १ वाकामलाङ्ग खण्डको भोटाहामा अस्थाई प्रहरी चौकी स्थापना भएको छ। ८८८ औं अस्थायी प्रहरी चौकीको रुपमा बाकामलाङ प्रहरी चौकी स्थापना भएको हो । सो प्रहरी चौकी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले शान्ति सुरक्षा कायम सँगै कालीगण्डकी करिडोर भएर हुन सक्ने चोरी निकासी एवम अवैध गतिविधि नियन्त्रण गर्न, सवारी दुर्घटना न्युनिकरण गर्न प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो । सुवेदीले प्रहरी चौकी समुदायको हितको लागि स्थापना गरिएको र यसले दुई जिल्लाको सिमा क्षेत्र भएर हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने स्पष्ट पार्नुभयो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीले निस्दी गाउँपालिका वडा नं. १ र २ का जनतालाई सेवा दिने बताउनुभयो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले प्रहरी चौकी स्थापना सँगै स्थानीयको वषौं देखिको सपना पुरा भएको बताउनुभयो । पालिकाले चौकी सञ्चालनका लागि आवश्यक साथ र सहयोग गर्ने बताउनुभयो । सो अवसरमा निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, निस्दी–१ का निवर्तमान वडा अध्यक्ष पूर्ण बहादुर खाँण, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेल लगायतले प्रहरी चौकी स्थापना हुनाले गाँउमा शान्ति, सुरक्षा. चोरी. पैठारी नियन्त्रण हुने बिचार राख्नु भएको थियो ।

कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बाकामलाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक प्रेम देव गिरीलाई मोटरसाईकलको साँचो समेत हस्तान्तरण गर्नु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम निस्दी १ का वडा अध्यक्ष यम बहादुर रानाको स्वागत र जिल्ला प्रहरी कार्यालय पाल्पाका सहायक निरीक्षक हुमकला राना मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।













