बासुदेव ढकाल।
पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले रामपुरमा पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । इलाका प्रशासन कार्यालय रहेको रामपुरमा पहिलो पटक सोमबार कार्यालयको सेवा प्रवाह लगाएत शान्ति सुरक्षाको विषयमा जानकारी गराउन तथा सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई गरेको कार्यालयले कार्यक्रममार्फत जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तायनारायण सुवेदीले सेवाका विषयमा जानकारी गराउनुका साथै नागरिकको गुनासो सम्बोधन र सुझाव संकलनका लागि कार्यक्रम गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय रामपुरबाट प्रवाह हुने सेवाको विषयमा जानकारी गराउनु हुदै उहाँले जिल्ला सुरक्षा समन्वय समिति जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट दैनिक नागरिकता १०० जना बढी, राहदानी ६० बढी र इलाका प्रशासन कार्यालय बाट नागरिकता ३० भन्दा बढी र राहदानी १० भन्दा बढीलाई प्रदान हुँदै आएको जानकारी गराउनु भएको थियो । २०६२ माघ १९ भन्दा अघिको नागरिकताको रेकर्ड तानसेन दरबार आक्रमणको क्रममा जलेर नष्ट भएकाले त्यस अघिको प्रतिलिपि जारी गर्न समस्या देखिएको बताउनुभयो । जन्मदर्ता, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम तथा जन्ममिति फरक पर्दा केही अप्ठ्यारहरु देखिए पनि जनतालाई कसरी हुन्छ सहज रुपमा सेवा दिन प्रतिवद्ध भएर लागेको बताउनुभयो । विद्ममान कानुन संवत् ढंगबाट सेवा प्रदान गर्न प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो । इलाका प्रशासन कार्यालय रामपुरबाट राष्ट्रिय परिचय पत्रको फारम भर्ने सकिने भएपनि अहिले कर्मचारी अभावमा पाल्पाका जनतालाई प्राथमिकता दिईएको पनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पछिल्लो समय पाल्पाका आत्मा हत्याको घटना बढ्दै गएको, यस वर्ष विपद्मा १२६ वटा घटना रहेको जानकारी गराउनु भएको थियो। उहाँले प्रहरीले शान्ति सुरक्षासंगै सचेतना कार्यक्रमलाई ध्यान दिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले इलाका प्रहरी कार्यालयबाटै मुद्दा चल्ने व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो । अभियन्ता कृष्ण प्रसाद पौडेलले जिल्ला प्रशासन कार्यालय सेवा दिने मात्र नभै सुशासन कायम गर्ने कार्यालय रहेको भन्दै दुर दराजका जनतालाई वडा बाटै सेवा प्रदान गर्ने व्यवस्था गर्र्नु आवश्यकतामा जोड दिनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिक तथा अशक्तहरुको सहजताको लागि घुम्ती सेवा मार्फत सेवा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नागरिकता बनाउन ढिलो हुँदा मुचुल्का बनाउनु पर्ने कानुनले दुर दराजका स्थानीयलाई समस्या भएको बताउनुभयो ।
नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष फणेश्वर गौतमले रामपुर नगरपालिका भित्र नाका धेरै भएकाले सुरक्षा चुनौति देखिएको बताउँदै डिएसपी सहितको दरबन्दी कुरामा मात्र सिमिति हुन नहुने बताउनुभयो । उहाँले ६ नं. विशेष नापीको कामले गति लिन नसकेको प्रति गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले इलाका प्रशासन कार्यालयमा जनशक्ति थप गरेर भएपनि जनताको सहजताको लागि मतदाता नामावली संकलनमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले कतिपय नागरिक आवश्यक प्रमाण नहुँदा नागरिकता नभएका अवसर बाट वञ्चित हुनु परेको बताउँदै समाधानका लागि उपाय खोज्नु पर्ने बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संस्था दर्ताको व्यवस्था इलाका प्रशासन बाटै गर्नु आवश्यक रहेको बताउँदै रामपुर क्षेत्रको सुरक्षालाई मध्यनजर गरेर प्रहरी संख्या थप्नु पर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष भिमविश्व भट्टराईले विपिसीले महसुल वृद्धि गरेको बताउँदै प्रशासनको ध्यानाकर्षण गराउनु भएको थियो । पत्रकार रमा भण्डारीले कतिपय नागरिकले कर्मचारीको गल्ति र त्रुटीका कारणले भएका समस्याले मर्कामा पारेको जानकारी गराउनु भएको छ। नेपाल भूपूसैनिक संघका क्या. देव बहादुर थापा मश्राङ्गीले कतिपय भूपू सैनिकहरु नाम, थर फरक पर्नाले समस्या भोग्दै आएको बताउनुभयो । कार्यक्रममा सहभागीको प्रश्न र जिज्ञासाको जवाफ, प्रमुख जिल्ला अधिकारी सुवेदी, प्रहरी उपरीक्षक भट्टराई, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत दिनेश ज्ञावली र मालपोत कार्यालय रामपुरका प्रमुख ज्ञान बहादुर सिंजालीले जवाफ दिनु भएको थियो । कार्यक्रमको सञ्चालन शाखा अधिकृत दिनेश ज्ञावलीले गर्नुभएको थियो ।
जिल्लाका सुरक्षा निकायका प्रमुख, रामपुर नगरपालिका स्थित जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, बौद्धिक व्यक्तित्व, सञ्चारकर्मी तथा नागरिकहरुको उपस्थितिमा इलाका प्रशासन कार्यालय रामपुरमा सोमबार सार्वजनिक सुनुवाई गरेको हो ।












