राष्ट्रिय न्युज ।
पाल्पा– रामपुर नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि ३ दिने पुर्नताजगी तालिम सुरु भएको छ । नगरपालिका भित्रका सूचीकृत मेलमिलापकर्ताहरुको लागि शनिबार देखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्नुहुँदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नयाँ नियम कानुन बारे जानकारी नहुँदा विवाद समाधानमा समस्या हुने गरेको बताउनुभयो । मेलमिलापकर्ताहरु नयाँ जारी भएका नियम कानुनबारे जानकार हुनु पर्ने बताउँदै समुदायका अन्य मानिसलाई समेत सचेत गराउन आग्रह गर्नुभयो । कानुनी सचेतनाको अभावका कारण समाजमा विवाद सिर्जना हुने गरेको भन्दै नगर प्रमुख थापाले कानुन भन्दा माथि कोही नभएको र विवाद र मुद्दा छलफलको माध्यम बाट समाधान गर्नु आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले शान्त र विवाद रहित नगरपालिका निर्माणका लागि सबै मेलमिलापकर्ताहरुलाई पूर्ण जिम्मेवारका साथ लाग्न आग्रह गर्नुभयो । उहाँले वडामा हुने विवादका मुद्दालाई न्यायोचित तवरले निरुपण गर्नु पर्नेमा जोड दिनुभयो । साथै नयाँ जारी भएका नियम कानुन बारे जानकारी गराउन पुनर्ताजगी तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले नगरपालिकामा जग्गा विवाद सम्बन्धी मुद्दा धेरै आउने गरेको भन्दै स्थानीय सरकार, नापी कार्यालय र विषेश नापी टोलीको जग्गा मापनमा एक रुपता नहुँदा समस्या आएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिका भित्र सूचीकृत मेलमिलापकर्ताहरुले सम्पादन गरेको न्याय निरुपण उदहारणीय रहेको भन्दै थप प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । न्यायिक समितिमा विवाद बढ्दो रुपमा दर्ता भएको भन्दै समाजमा हुने विवादको मेलमिलाप मार्फत समाधान गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीले मेलमिलापकर्ताहरुको सक्रियताले समग्र वडा संगै नगरपालिकाको न्याय निरुपणको अवस्था राम्रो भएको बताउदै उहाँले कुनै आग्रह पूर्वाग्रह नराखी वडा मै विवादको मेलमिलाप गर्नु पर्ने बताउनुभयो । यसैगरी न्यायीक समिति सदस्य खेमराज अधिकारीले मेलमिलापकर्ताहरुलाई विभिन्न कानुन र न्याय निरुपण सम्बन्धी जानकारी गराई थप चलायमान बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।
रामपुर नगरपालिका भित्रका सुचिकृत मेलमिलापकर्ताहरुको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता गिता आचार्यले गर्नु भएको हो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा न्यायिक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन न्यायिक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।












