पाल्पा-
मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तानसेन नगरपालिकाले नगरपालिका भित्रका ९० श्रमिकहरुलाई सम्मान गरेको छ।"श्रमको सम्मान,राष्ट्रको अभियान" भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नगरभित्र विभिन्न क्षेत्रहरूमा कार्यरत श्रमिकहरू सरसफाइ, प्रधानमन्त्री रोजगारको काममा सहभागी भएका श्रमिक ,प्रधानमन्त्री रोजगार तालिम लिइरहेका श्रमिकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख सन्तोष लाल श्रेष्ठले श्रमिकहरूको योगदान नेपालको विकास र समृद्धिमा अपरिहार्य रहेको बताउनुभयो । विकासको सपना देख्ने हरेक योजनाको जग श्रमिककै पसिना र परिश्रममा अडिएको उहाको भनाइ थियो । तानसेन नगरपालिका श्रमिकहरूको हकहित संरक्षणमा प्रतिबद्ध रहेको बताउदै आगामी दिनमा श्रमिकहरूकाे लागि सामाजिक सुरक्षा तथा सीपमूलक कार्यक्रमहरूलाई नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरभित्रका नागरिकहरूलाई स्वरोजगारमूलक तालिम तथा रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । यस कार्यक्रमको माध्यमबाट धेरै श्रमिकहरूले आवश्यक सीप र ज्ञान हासिल गर्दै आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्नु भएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख प्रतिक्षा सिङ्जालीले मजदुर दिवसले श्रमिकहरूको अधिकार, श्रमको सम्मान र न्यायपूर्ण कार्यस्थल सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउने अवसर रहेको बताउनुभयो । समाजको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अमूल्य रहेको बताउनुभयो । श्रमिकहरूलाई केवल 'श्रम गर्ने' जनशक्ति होइन, राष्ट्रनिर्माणका आधार स्तम्भको रूपमा हेर्नुपर्ने बताउदै श्रमिकको श्रमको उचित मूल्यांकन, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, स्वास्थ्य, सम्मानजनक जीवनशैली सुनिश्चित गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले श्रमिकहरूलाई केवल श्रमदाताको रूपमा होइन, समाजका आधारशिला र परिवर्तनका संवाहकका रूपमा चिनाउने प्रयास यो दिवसले गरेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका लेखा अधिकृत काेसल राज घिमिरेले नगरपालिकाले नागरिकहरूलाई सक्षम र दक्ष बनाउन प्रधानमन्त्री राेजगार कार्यक्रमबाट तालिम सञ्चालन गरेको बताउनुभयो । तालिमले आगामी दिनमा नगरका कामलाई गुणस्तर बनाउन सहयोग गर्ने बताउनुभयो ।
तानसेन नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक राधा घिमिरेले सम्मान केवल व्यक्तिको नभई, श्रमको सम्मान रहेको बताउदै नगरको समग्र विकासमा उहाँहरूको योगदान अमुल्य रहेकाे बताउनुभयो । स्थानिय सरकारले नागरिकलाई सबल र सक्षम बनाउन विभिन्न तालिम कार्यक्रमहरू केन्द्रमार्फत सञ्चालन गरिरहेको बताउनुभयो । उहाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत,रोजगार तालिम,दुर्घटनाको जोखिम,बिमा,सेवासुविधाका बारेमा सहभागीहरुलाइ अभिमुखिकरण गर्नुभएको थियो।
सहभागी श्रमिक दिपक दर्जी,गोमा थापा लगायतले तालीमबाट धेरै कुरा सिक्न पाएको बताउनुभयो । सिकेका सीपलाई व्यवहारिक रुपमा प्रयोग गरेर अगाडि बढ्ने र तालिममा सस्थाले गरेको लगानी सदुपयोग गर्ने बताएका छन। कार्यक्रम तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालिको अध्यक्षता, नगरपालिकाका बरिस्ठ अधिकृत भरत आचार्यको संचालनमा सम्पन्न भएको हो।












