राष्ट्रिय न्युज ।
पोखरा - श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ १४औं दिनसम्म जारी छ । कोटीहोम महायज्ञको औपचारिक उद्घाटन भने बुधबार गरिएको थियो । १४औं दिनसम्ममा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन सकेकी छन् ।
शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार बिहीबार देवी प्रतिभाद्वारा प्रस्तुत अन्तिम दिनको श्रीमद्भागवत कथा श्रवण गर्न करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दावी छ।
भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको बताइएको छ । बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् ।
कोटीहोमको १४औं दिनमा भारतका डा. विश्वासनन्द, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, अन्नपूर्ण केबलकारका प्रबन्धक दिनेश पौडेललगायतका व्यक्तित्व सहभागी थिए । अन्नपूर्ण केवलकारका प्रवन्धक पौडेलले कोटीहोमका भक्तजनलाई केबलकारसम्म जानका लागि निःशुल्क बस सेवा उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भारतका के के शर्माले पोखरामा आयोजित कोटीहोम संसारमा अहिलेसम्म भएका यज्ञभन्दा विशाल भएको बताए । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।
कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
सो अवसरमा ११ हजार कलश पुजन भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।












