रामपुर।
पाल्पा, रामपुर नगरपालिकाले महिला दिदिबहिनीहरुलाई पोते माला तथा चुरा बनाउने तालिम संगै उद्यमशिलता विकास तालिम प्रदान गरेकोछ । नगरपालिकाले पोते माला तथा चुरा बनाउने तालिममा सहभागि हुने महिला दिदिबहिनीहरुलाई उद्यमशिलता विकास तालिम प्रदान गरेको हो । उपप्रमुख ग्रामिण महिला उत्थान कार्यक्रम अन्तर्गत १३ दिने पोते माला तथा चुरा बनाउने तालिममा सहभागि महिलाहरुलाई व्यवसाय सञ्चालन तथा प्रवर्द्धन सिप प्रदान गरिएको छ ।
बुधबार तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख बाल कुमारी थापाले स्थानीय उत्पादनको अभिवृद्धि गरि रामपुरलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले दैनिक जिवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी गराउनु भयो । विभिन्न समयमा सञ्चालन गरेका तालिमबाट सिप सिकेका महिलाहरुले उत्पादन गरेका सामग्री नगरपालिकाले खरिद गरेर बजारको समेत प्रवर्द्धन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले आर्थिक समृद्धि र जिविकोपार्जनका लागि सिपमूलक तालिम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।उहाँले सिपले अर्थोपार्जनका गर्ने भन्दै ज्ञानसिपको सही प्रयोग गर्न आग्रह समेत गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवंम वडा नम्बर १ का अध्यक्ष कपिल बहादुर खाँण, वडा नम्बर २ का अध्यक्ष कृष्ण बहादुर दर्जी कार्यपालिका सदस्य मायादेवि नेपालीले तालिमबाट महिलाहरु पनि उद्यमी र आत्मनिर्भर बन्न सक्ने विषयमा चर्चा गर्नु भएको थियो।
तालिममा सिप सिकेर उद्यमी बन्न चहाने महिला दिदिबहिनीहरुलाई सिर्जनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यवसायीक बनाउन साथै व्यवसायीक योजना बनाउन सिकाईने उद्यम विकास सहजकर्ता रुपेश सिंजापतिले बताउनुभयो । रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीको स्वागत र महिला बालबालिका शाखा प्रमुख पुजा परियारले संचालन गर्नु भएको थियो ।
नगरपालिकाको सभाहलमा भएको तालिममा नगरपालिका भित्रका ३८ जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको छ । सहभागिहरुलाई ४ दिन उद्यम विकास सम्बन्धी तालिम र त्यस पश्चात १३ दिन सम्म पोते माला तथा चुरा बनाउने तालिम प्रदान गरिने छ ।












