राष्ट्रिय न्युज ।
पाल्पा, रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । सोमबार सम्पन्न आर्थिक वर्ष २०८१ र ०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाइभर्सन विरुद्ध रामपुर नगरपालिकाले सशक्त रुपमा आवाज उठाउँदै आएको बताउनुभयो ।
अन्य पालिकासंग सहकार्य गर्दै अघि बढेको बताउँदै यहाँका धार्मिक आस्था, संस्कृति र पारिस्थितिक प्रणालीको रक्षाका लागि नगरपालिका लागि परेको बताउनु भयो। १० वटै वडामा समानुपातिक रुपमा विकासका योजना नगरले सञ्चालन गर्दै आएको स्पष्ट पार्नुभयो । फोहोर व्यवस्थापन नगरको चुनौतिको रुपमा देखिएको भन्दै निरन्तर प्रयास भैरहेको बताउनुभयो । विकास निर्माणका योजनाको काम गुणस्तरीय र समय मै सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग संगै निगरानी गर्नु आवश्यक रहेको बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चालु आर्थिक वर्षमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले विनियोजित बजेट मध्ये चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ३२ करोड ४ लाख ६ हजार २४३ रुपैयाँ ८२ पैसा र पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार विनियोजन भएकोमा ५ करोड १८ लाख ७६ हजार ३६६ खर्च भएको बताउदै नगर भित्र सञ्चालनमा रहेका ३८० योजना मध्ये २३५ वटा योजना सम्पन्न भएको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले नगरको विकासमा सरोकारवालाहरुको सुझाव र सल्लाह महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नगरपालिका मार्फत सञ्चालन भएका भ्रमणका विषयमा उठेका जिज्ञासा माथि स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा सहभागी मध्ये ११ जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागीहरु मध्ये रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, सल्लाहाकार कृष्ण प्रसाद पौडेल, सल्लाहाकार फणेश्वर गौतम, रामपुर ६ का सुन्दर प्रसाद देवकोटा, रामपुर ३ का रविचन्द्र न्यौपाने, रामपुर ८ का दिपकमणी अर्याल, पत्रकार रमा भण्डारी, रामपुर ५ का हरि प्रसाद पौडेल, बालकल्याण प्राविका प्रधानाध्यापक नगेन्द्र काफ्ले, रामपुर ७ का लुकनाथ घिमिरे, रामपुर ६ का राजेन्द्र बहादुर कुमालले आफ्ना जिज्ञाशा सहित सुझाव राखेका थिए । सहभागीले डिजिटल नापी, घर नक्सा पास, फोहोर मैला व्यवस्थापन, घरहरुको अभिलेखिकरण, अनुदानको विउ, शीतभण्डार, वडा सचिव नहुँदा भएको समस्या, सडक तथा अन्य पूर्वाधार निर्माणको अनुगमन, विपदको जोखिम न्यूनिकरणको तयारी, दिगो विकास, सिंचाई संगै कालीगण्डकी डाइभर्सनको विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा र प्रश्नको जवाफ विशेष नापी कार्यालयका प्रमुख दिपक यादव, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखा अधिकृत विकल काफ्ले, रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मी, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगाएतले दिनु भएको थियो ।
नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रम रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाले मन्तव्यबाट स्वागत गर्नु भएको कार्यक्रममा सहभागीहरुलाई नगर प्रवक्ता कपिल बहादुर खाँणले धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले गर्नु भएको थियो । रामपुर नगरपालिकाको आयोजनामा सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा सम्पन्न कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका सल्लाहाकार, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।













